काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा आफूले राखेको एउटा पोस्टलाई लिएर विभिन्न कोणबाट टिप्पणी हुन थालेपछि स्पष्टीकरण दिएका छन्।
आइतबार साँझ प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको एउटा तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा ‘देश बनाउने टोली’ भनी लेखेका थिए। उक्त पोस्ट सार्वजनिक भएलगत्तै मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई नजरअन्दाज गरिएको वा हेपिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना र टिकाटिप्पणी सुरु भएको थियो।
सञ्जालमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री बालेनले अर्को एउटा स्टाटस लेख्दै आफ्नो बचाउ गरेका छन्। उनले कामको चाप र आफ्नो व्यक्तिगत समयको कुरा उठाउँदै आलोचना गर्नेहरूलाई जवाफ दिएका हुन्।
"हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन," प्रधानमन्त्री शाहले स्पष्टीकरण दिँदै लेखेका छन्, "दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।"
प्रधानमन्त्रीको यो प्रष्टीकरणपछि पनि सामाजिक सञ्जालमा सर्वसाधारण र राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। कतिपयले यसलाई उनको स्वाभाविक ठट्टाको रूपमा लिएका छन् भने कतिपयले देशको कार्यकारी प्रमुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सामाजिक सञ्जालमा परिपक्वता देखाउनुपर्ने टिप्पणी गरिरहेका छन्।
प्रतिक्रिया