×

हराएकाे २४ लाख मात्रा खाेप मन्त्रालयकाे वेबसाइटमा खाेज्नुस् : मन्त्री खतिवडा

images

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विराेध खतिवडाले हराएकाे २४ लाख मात्रा खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गर्नुभएकाे छ । 

आज बुधवार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले हराएकाे खाेप खाेज्नका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो । उहाँले नेपालमा विभिन्न देशबाट आएका खोपहरू काठमाण्डाैमा कुन मितिमा आएको, काठमाण्डाैबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयाे, ‘स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो ? कुन मितिमा आयो ? प्रष्ट छ, सबै खाेप काठमाण्डाैमै आएको छ र विराटनगर गएको छैन । अहिलेसम्म नेपालमा पाँच करोड ३३ लाख मात्रा खोप आएकोमा चार करोड ८७ लाख मात्रा प्रयोग भइसकेको छ । अझै ४६ लाख ४७ हजार डोज खोप सरकारसँग स्टक रहेको छ । २४ लाख घोटाला गरेको हो भने पुष्टि गर्न चुनौती दिन्छु ।’

मन्त्री खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताउनुभयाे । आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गर्नुभएको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने उहाँले बताउनुभएको हो । 

मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम ऐनअनुसार नै अघि बढ्ने बताउनुभयो । निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरूबाट ७० थरी बाँड्ने गरिएकोमा अब ९८ थरीका औषधि बाँड्न थालिएको उहाँकाे भनाइ छ । उहाँले स्वास्थ्य बीमाका लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले बालबालिकाका लागि फाइजर खोप ल्याउनका लागि विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी साढे ६ अर्ब रुपैयाँको खोप किन्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि सुनाउनुभयाे । उहाँले मन्त्रिपरिषद्ले किन्ने भनेको खोप खारेज गरेर अनुदानको खोप प्रयोग गरेको बताउनुभयो ।

बुधबार १ असार २०७९ ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया