×

ओली सरकारको आयु लामो छैन- प्रचण्ड

images

नवलपरासी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सहकार्य लामो नजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारप्रति जनता चरम असन्तुष्ट रहेको भन्दै सरकार लामो नजाने दोहोर्याएका हुन् ।

आज (मंगलबार) नवलपरासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममापनि सरकारको विषयमा कांग्रेस र एमालेभित्रै असन्तुष्टि बढेको दाबी गर्दै यस्तो जिकिर गरेका हुन् । 

कांग्रेस र एमालेका नेताहरूसँग अनौपचारिक कुराकानी हुँदा सरकारप्रति सत्तासाझेदार र जनतामा चरम वितृष्णा फैलिएकाले केपी शर्मा ओली सरकारमा बसिरहनुको अर्थ नभएको जिकिर गरे । ‘ओली नेतृत्वको सरकारदेखि जनता र कांग्रेस एमालेकै नेता कार्यकर्ता असन्तुष्ट छन्,’उनले भने,‘ अब यो सरकारको आयु लामो छैन् , भन्ने मेरो बुझाइ हो ।’

शिक्षक , पत्रकार , लघुवित्त तथा विभिन्न राजनीतिक दल सडक आन्दोलनमा हुँदासमेत सरकारले मुकदर्शक बनेर बसेको दाहालको आरोप छ । आफ्नो पाटी सरकार र सत्तामा मात्र बढी केन्द्रित भएको आत्मालोचना गर्दै अहिले जनताको बिचमा आएको र माओवादीप्रति आम जनताको आशा र भरोसा रहेको अभियानका क्रममा आफूले महसुस गरेको बताए ।

अध्यक्ष दाहालले नवलपुरमा सहिद परिवारसँग भेटघाट र माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गरेका थिए । 

उनले आफू कांग्रेस र एमालेका नेताहरुसँग निरन्तर सम्वादमा रहेको पनि खुलाएका छन् । उनले अहिलेको सरकारलाई कांग्रेसका नेता तथा कार्यकर्तापनि असन्तुष्ट रहेको सुनाए । कांग्रेसमात्रै नभएर एमालेको ठूलो पँक्तिपनि वर्तमान सरकारबाट सन्तुष्ट नभएको भन्दै त्यही आधारमा आफूले यो सरकार धेरै लामो नजाने भनेर टिप्पणी गरेको पनि खुलासा गरे ।

मङ्गलबार २ बैशाख २०८२ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया