×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- भदौ महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । जसमा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो । त्यसैगरी समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको भने तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

२- आर्थिक वर्ष २०८२- ८३ को दुई महिनामा कुल वस्तुनिर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा निर्यातमा ८८.६ प्रतिशतले वृद्धि भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल,पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।

३- मैत्रीपूर्ण फुटबल खेलमा जापानले ब्राजिललाई पराजित गरेको छ । जापानको टोकियोस्थित द टोकियो स्टेडियममा मंगलबार सम्पन्न खेलमा जापानले ब्राजिललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।  जापानको जितमा टाकुमी मिनामिनो, केइटो नाकामुरा र आयासे उएडाले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राजिलका लागि पाउलो हेनरिक र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । यो अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलमाथि जापानको अहिलेसम्मको पहिलो जित हो । यसअघि खेलेका १३ खेलमा ११ पटक ब्राजिलले जितेको थियो भने २ गोल बराबरीमा रोकिएका थिए ।

४- इजरायली सेनाले विपिन जोशीको शव आफुहरुले बुझेको पुष्टि गरेको छ । इजरायली सेनाले डिएनए परिक्षणपछि विपिन जोशीको शव हमासबाट बुझेको पुष्टि गरेको हो ।  यस विषयमा सेनाले परिवारलाई जानकारी गराएको समेत उल्लेख गरेको छ । साथै विपिनसहित अर्का बन्धक गाय इलुजको शव पनि प्राप्त गरेको पुष्टि भएको छ । विपिनलाई २३ वर्षको उमेरमा हमासले किबुट्ज अलुमिमको आश्रयस्थलबाट अपहरण गरेको थियो । युद्धको पहिलो महिनामा नै उनको हत्या गरिएको आकलन इजरायली सेनाले गरेको छ । इजरायलको राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने जनाएको छ ।

५- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डिएनए परीक्षणमार्फत उनकै भएको दुःखद् समाचारले मर्माहित भएको बताएका छन् । प्रचण्डले विपिनको अपहरणपश्चात उनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको उल्लेख गरेका छन् । प्रचण्डले यस दुःखद् घडीमा विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।  प्रचण्डले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको उल्लेख गर्दै पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गरेका छन् ।

६- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्ने गरेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले बिपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो तर उनी त अस्ताइसकेका रहेछन् भन्ने लेखेका छन् । उनले यो खबरले स्तब्ध बनाएको उल्लेख गर्दै विपिन जोशीप्रति  हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । हमासले गएराती रेडक्रस मार्फत विपिनको शव हस्तान्तरण गरेको थियो । त्यसपछि मंगलबार इजरायली सेनाले डिएनए परिक्षणपछि सो शव विपिनको भएको पुष्टि भएको जानकारी दिएको हो । साथै इजराली सेनाले हमासले विपिनको हत्या अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।

७- आर्थिक वर्ष २०८२- ८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स ३३.१ प्रतिशतले बढेर ३५२ अर्ब ८ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।  २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२७ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको राष्ट्र बैंक रिपोर्टमा उल्लेख छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३८४ अर्ब ८८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८७ अर्ब ७६ करोड रहेको थियो । त्यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको राष्ट्र बैंक रिपोर्टमा उल्लेख छ ।

८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले खरिदार भण्डारी काभ्रेपलाञ्चोक साविक दोलालघाट गाविस- ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा भण्डारीले साविक दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरु हकवाला जग्गाधनीको नाममा छुट जग्गा दर्ता गर्ने गराउने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख घुस लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दुई लाख नै बिगो माग गरेर आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

९- नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से १९.४३ अंकले घटेर २५२८.१६  विन्दुमा पुगेर रोकिएको छ । आज ३१७ कम्पनिका ७४ लाख ८८ हजार २७३ कित्ता शेयर ३ अर्ब ३६ करोड ५१ लाख ९८ हजार २६२ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ । आज शुभम पावर र ग्रामिण विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ७ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १६ करोड ९ लाख बराबरको कारोबार भएको छ ।

१०- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनमा आक्रमण भएपछि पहिलो पटक सार्बजनिक भएका छन् । मंगलबार काँग्रेसको केन्द्रीय समितिको बैठकमा उपस्थित भएका देउवाले भदौ २४ गते आफुमाथि भएको आक्रमण बारे बैठकमा जानकारी दिएका छन् । देउवाले आफुहरुमाथि ज्यानै लिने गरि आक्रमण भएको बताउदै सुरक्षाकर्मीको घन्टौंको अथक प्रयासले आफुहरुको उद्धार गरिएको बताएका छन् । देउवाले बैठकमा भने- गत भाद्र २४ गते सिंगो मुलूक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौको अथक प्रयाश पछि हामीलाई उद्दार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाइहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो । तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो वैठकमा आएर बैठक संचालन गर्न पाएको छु। मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिंदा यस किसिमका अवस्था जुनसुकै वेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ । यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।

११- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । मधेश प्रदेशको प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएका हुन् । उनकै पार्टीले उनीप्रतिको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत पाउने सम्भावना नभएको अवस्थामा प्रदेश सभामा आफ्ना कुरा राखेर राजीनामा दिएका छन्  । मुख्यमन्त्री सिंहले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । म यो बैठकबाट आक्रमणकारीहरुको कब्जावाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सवैलाई हृदयदेखि धन्यबाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु ।

१२- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । साथै देउवाले पार्टीको नियमित महाधिवेशन तोकिएको समयमानै  हुने बताएका छन् ।  देउवा निकट नेताका अनुसार उनी उपचारका लागि सिंगापुर जाने तयारीमा समेत रहेका छन् । आजको बैठकको शुरुमा नै देउवाले आफ्नो लिखित सम्बोधन पढेका थिए । सम्बोधनका क्रममा देउवाले भदौ २३ र २४ गतेको घटनाको छानबिनको माग गरेका छन् । साथै उनले उनले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारसँग माग पनि गरेका छन् ।

१३- नेपाल राष्ट्र बैंकले धन्तेरसलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरू गरेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरू गरेको बैंकको टक्सार महाशाखाले जनाएको छ । बैंकले १० ग्राम प्रति सिक्को मूल्य ३२ सय रुपैयाँ तोकेको छ । सुनको असर्फी भने यस वर्ष बिक्री वितरण नगरिने महाशाखाले जानकारी दिएको छ । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का विक्री वितरण गर्दै आएको थियो । तर, केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने विषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै विक्री वितरण गरिएको महाशाखाले जनाएको छ । चाँदीको सिक्का बिक्री सुरू भएसँगै सर्वसाधारणहरु लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगिरहेका छन् ।

१४- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।  कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । त्यस्तै औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४: २९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइने समितिले जनाएको छ ।

१५-  नेपाल आइसीसी टी २० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले अक्टोबर १३ अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थानको सुधार गरेको हो । नेपाल यसअघि १८औं स्थानमा रहेकोमा अब १७औं स्थानमा उक्लिएको छ । नेपालले लगातार जित हासिल गरेपछि वरियतामा पनि सुधार भएको हो । खासगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेपछि नेपालको वरियतामा सुधार भएको छ । त्यस्तै यसअघि १७औं स्थानमा रहेको अमेरिका एक स्थान तल झरेको छ र १८औं स्थानमा पुगेको छ ।  टी-२० को वरियतामा हाल भारत शिर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ । त्यस्तै नेपाल भन्दा एक स्थान माथि युएई रहेको छ ।

१६-  सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनर्स्थापनाका रिटहरु पर्न शुरु भएका छन् । अहिले विभिन्न व्यक्तिहरु रिट लिएर जानेक्रम शुरु भएको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म प्रतिनिधि सभा पुनर्स्थापनाका तीन रिट बुझाइएको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेपछि दर्ता गर्ने बताएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्र्पति रामचन्द्र पौडेलले सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि कार्कीको सिफारिसमा संसद विघटन गरिएको भएको थियो । फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यादेश पाएर सरकारले काम गरिरहेका बेला प्रतिनिधि सभा पुनर्स्थापनाको विषय अबको दिनमा राजनीतिको केन्द्र हुने देखिएको छ ।

१७- भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सात विकेटले जितेको छ । यससँगै भारतले दुई खेलको सिरिज क्लीन स्वीप गरेको छ । वेस्ट इन्डिजले खेल जित्नको लागि भारतलाई १२१ रनको लक्ष्य दिएको थियो, जुन भारतीय टोलीले केवल तीन विकेट गुमाएर हासिल गर्यो । भारतको लागि दोस्रो इनिङमा केएल राहुलले सर्वाधिक ६० रन बनाए । साई सुदर्शनले पनि ३९ रनको योगदान दिए । वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले दुई विकेट लिए भने जोमेल वारिकनले एक विकेट लिए । यस खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङ पाँच विकेटमा ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो । जसमा यशस्वी जैसवालले १७५ र कप्तान शुभमन गिलले १२९ रन बनाएका थिए । वेस्ट इन्डिजको पहिलो इनिङ २४८ रनमा समेटियो । त्यसपछि, आगन्तुक टोलीले दोस्रो इनिङमा ३९० रन बनाए, जसले भारतलाई जित्नको लागि १२१ रनको लक्ष्य दिएक ओथियो । दोस्रो इनिङमा वेस्ट इन्डिजका लागि जोन क्याम्पबेल र शाई होपले शतक बनाए । आफ्नो टोलीका लागि क्याम्पबेलले सर्वाधिक ११५ रन बनाए भने शाई होपले १०३ रन बनाएका थिए । यी दुईसँगै जस्टिन ग्रिभ्सले पनि ५० रन बनाए । दोस्रो इनिङमा भारतका लागि जसप्रीत बुमराह र कुलदीप यादवले तीन-तीन विकेट लिए। मोहम्मद सिराजले दुई र रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक-एक विकेट लिएका थिए । दुई टोलीबीचको पहिलो टेस्ट अहमदाबादमा खेलिएको थियो, जुन भारतले एक इनिङ र १४० रनले जितेको थियो ।

१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ हजार २ सयले बढेर तोलाको २ लाख ४८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४० हजार ४०० मा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३२२० मा कारोबार भएको थियो ।

१९- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन् । उनले यो युद्धविरामलाई दिगो शान्तिमा परिणत गर्न आह्वान गर्दै गाजामा आर्थिक सहयोगको बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्- 'संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले राहत कार्यहरू द्रुत गतिमा सञ्चालन गरिरहेका छन् । तिनीहरू महिनौंदेखि काटिएका क्षेत्रहरूमा पुगिरहेका छन् ।' यद्यपि, आवश्यकताहरू अझै पनि ठूलो छन् । निरन्तर पहुँच र आर्थिक सहयोग महत्त्वपूर्ण छ ।' गुटेरेसले अगाडी भनेका छन्- 'म सबैलाई यो युद्धविरामलाई बलियो बनाउन र यसलाई दिगो शान्तिमा रूपान्तरण गर्न अपील गर्दछु ।' सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा गाजा शान्ति योजनामा ​​हस्ताक्षर गरिएको थियो । २० भन्दा बढी देशका नेताहरूले शिखर सम्मेलनमा भाग लिएका थिए ।

२०- विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप प्रवन्ध निर्देशक बो ली सँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । विश्व बैंकका प्रवन्ध  निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेन जी समुहको प्रदर्शन पछि बनेको सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन गराउनुका अतिरिक्त सुशासन र उत्तरदायित्व प्रवर्द्धन गरेको बताए । साथै उनले वर्तमान सरकार व्यवसायिक वातावरण सुधारका लागि गर्नुपर्ने संस्थागत र प्रक्रियागत सुधारका कार्यलाई तिव्रता दिन र कानुनी सुधारका लागि पूर्वतयारी कार्य गर्न कटिबद्ध रहेको बताए । विश्व बैंक समुहले नेपालको विकास प्रयासमा गरिरहेको सहयोग प्रति धन्यावद व्यक्त गर्दै आगामी दिनमा बैंकसँगको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरे । सो अवसरमा विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डे अन्तरिम सरकारसँग काम गर्न विश्व बैंक इच्छुक भएको उल्लेख गर्दै आर्थिक र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयमा अर्थमन्त्रीसँग छलफल गरे । अन्तर्राष्ट्रिय मुद्रा कोषको उप-प्रवन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपालको आर्थिक सुधारमा गरेको सहयोग र सहकार्य प्रति धन्यवाद दिए । मन्त्री खनालले हाल अन्तराष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा संचालित विस्तारित कर्जा सुविधा सम्बन्धी बाँकी सुधारका कार्यलाई अघि बढाइने र आगामी दिनमा कोषसँगको सहकार्य मजबुत बनाइने उल्लेख गरे । सो अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोष उप-प्रवन्ध निर्देशक बो लीले विस्तारित कर्जा सुविधाको छैठौं समीक्षा सफलतपूर्वक सम्पन्न भएकोमा बधाई दिदै आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।

 

मङ्गलबार २८ असोज २०८२ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया