×

लोसपालाई सरकारमा आउन प्रधानमन्त्रीको प्रस्ताव

images

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा आउन प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा लोसपाका नेताहरूबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन्। लोसपा अध्यक्ष ठाकुर सहित नेताहरू राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ शुक्ल प्रधानमन्त्री देउवालाई भेट्न शनिबार बालुवाटार पुगेका थिए।

लोसपा नेताहरूले मधेश आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए। प्रधानमन्त्री देउवासँगको छलफलबारे हिमालखबरसँग कुराकानी गर्दै लोसपा नेता झाले भने, “हामीले नागरिकता विधेयक अगाडि बढाउन माग गर्‍यौं।”

यससँगै लोसपना नेताहरूले मधेश आन्दोलनका क्रममा भएका घाइतेलाई उपचारको व्यवस्था गर्न र झुठा मुद्दा फिर्ता प्रक्रिया अघि बढाउन आग्रह गरेको नेता झाले बताए। नागरिक विधेयक अघि बढाउने र मधेश आन्दोलनका विषयलाई लिएर केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति गरेको थियो।

“बीपी  कोइराला नेतृत्वको सरकारले गरेको सहमति अहिलेसम्मका सरकारले मानिरहेका छन्। ओली सरकारसँग भएको सहमति अगाडि बढाउनुप¥यो भन्यौं,” झाले भने।

यसअघिका सरकारले गरेका सहमतिमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएका थिए। “प्रधानमन्त्रीजीले म यसमा सकारात्मक छु। सरकारमा आउनुस्, सरकारमै बसेर काम गरौं, यी माग पूरा गर्न पनि सजिलो हुन्छ भन्नु भयो,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता झाले भने।

प्रधानमन्त्री देउवाले लोसपासँग समन्वय गर्ने जिम्मा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ।

अहिले देउवा नेतृत्वको सरकारमा चार दल सहभागी छन्। राष्ट्रिय जनमोर्चाले बाहिरबाटै समथर्न जनाएको छ। अहिले लोसपासँग १४ सांसद छन्।

सोमबार ३० फागुन २०७८ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया