×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- परराष्ट्र मन्त्रालयले इजरायलले विपिन जोशीको अवस्था अज्ञात रहेको जानकारी दिएको बताएको छ । मन्त्रालयले सोमबार इजरायलको स्थानीय समय अनुसार बिहान ७: ३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको बताएको हो । जोशीको रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको उल्लेख गर्दै हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पुरा नभएसम्म मन्त्रालयले यस बिषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने बताएको छ ।

२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा दायर गरेको छ । अख्तियारले अनुसन्धानका क्रममा नगरपालिकाको कारागार रानागाउँ नेटीबजार सडकको ठेक्का प्रक्रियामा मिलोमतो गरेर ठेक्का दिएको प्रमाणित भएको बताउदै विशेष अदालत,मा मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले ८१ लाख ५३ हजार ६३० बिगो कायम गर्दै भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, ईन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत कार्यरत अनिश शाह, कानून अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र थापा/सविन/सुदर्शन जे.भी., खलगां ४ जाजरकोट र उक्त जे.भी.का आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिप बहादुर खत्रीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ । 

३- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम सफल हुन नसकेको बताएका छन् ।  विश्व वसोवास दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले सोमबार राजधानीमा गरेको कार्यक्रममा भौगोलिक जोखिम परीक्षणमार्फत सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गरे ।  ‘देशका केही ठाउँमा एकीकृत बस्ती निर्माण गर्यौं, त्यहाँका समुदायलाई सामाजिक, वातावरण र आर्थिक पक्षसँग जोड्न नसक्दा विकास गरिएका वस्ती खाली देखिए, ग्रामीण र सहरी क्षेत्रका अव्यवस्थित वस्तीलाई सुरक्षित एवम् व्यवस्थित बनाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।’ मन्त्री घिसिङले भने, ‘मनसुनजन्य विपद्बाट बच्न पूर्वसूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रुपमा जोखिमयुक्त स्थानको म्यापिङ गरी सुरक्षित स्थानको पहिचान गरेर बस्ती स्थानन्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ, अब भौगोलिम म्यापिङ गरी असुरक्षित वस्ती स्थानन्तरण गर्नु पर्ने देखिएको छ ।’ उनले शहर विकासको गुरुयोजना तयारी गरी कुनै एउटा शहरलाई नमुनाको रुपमा विकास गरी सोहीअनुसार पूर्वाधारका संरचना निर्माण गरिने र त्यसलाई अन्य शहर विकासमा पनि अनुशरण गर्न सकिने उल्लेख गरे । ‘जग्गा खण्डीकरण गरी शहर विकास गरिने अभ्यास रहेको छ, अब यसलाई अन्त्य गर्न शहर विकासको एकीकृत गुरुयोजना तयार गरी अगाडि बढ्नु पर्नेछ’, घिसिङले भने । ‘नदी किनार सुन्दर नभइकन शहरी सौन्दर्य कायम हुन नसक्दैन, त्यसैले काठमाडौं उपत्यकाका नदी करिडोर किनारमा रहेका बस्तीको व्यवस्थापन आवश्यक छ ।’

४- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को बर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनित गर्ने घोषणा गरेको छ । इजरायलको संसदमा उपस्थित रहेका ट्रम्पलाई सभामुखले अर्को बर्षको नोबेल पुरस्कारका लागि मनोनयन गर्ने घोषणा गरेका हुन् । उनले नोबेल पुरस्कारका लागि ट्रम्प सबैभन्दा बढी लायक भएको घोषणा गरेका हुन् । ट्रम्पले नोबेल शान्ति पुरस्कारको लागि आफ्नो दाबेदारी पेश गर्दै आएका छन् । उनले आफुले विश्वका कैयौं युद्ध रोकेको भन्दै यसै बर्ष नोबेल पुरस्कार पाउनु पर्ने बताउदै आएका थिए । तर यस बर्ष नोबेल समितिले उनको मनोनयन समयमा नभएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा राखेको थिएन ।

५- वेस्ट इन्डिजले जारी दोस्रो टेस्टमा भारतलाई १२१ रनको लक्ष्य दिएको छ । टेस्टको चौथो दिन वेस्ट इन्डिजले दोस्रो इनिंगमा ३९० रन बनाएर अलआउट भएसँगै भारतले १२१ रनको लक्ष्य पाएको छ । वेस्ट इण्डिजका लागि जोन क्याम्पबेलले ११५ र शाइ होपले १०३ को शतकीय पारी खेलेका थिए ।त्यस्तै भारतीय बलर जसप्रित बुमराह र कुलदीप यादवले ३-३ विकेट लिएका थिए भने मोहमद सिराजले २ विकेट लिएका थिए । त्यस्तै वेस्ट इन्डिजले पहिलो इनिंगमा २४८ रन बनाएपछि भारतले फलोअन दिएको थियो । त्यसैगरी भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो । २ खेलको सिरिजमा भारत १-० ले अगाडी रहेको छ ।

६- यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई प्रदान गर्ने निर्णय गरिएको छ । नोबेल समितिले सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरेको हो ।  समितिले मोकिरलाई 'प्राविधिक प्रगति मार्फत दिगो वृद्धिको लागि पूर्वाधारहरू पहिचान गरेकोमा र संयुक्त रूपमा 'सिर्जनशील विनाश मार्फत दिगो वृद्धिको सिद्धान्तको लागि अघियन र होविटलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

७-  नेप्सेमा आज वृद्धि भएको छ । सोमबार नेप्से ४४.२५ अंकले बढेर २५४७.६०  विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका ९९ लाख ४ हजार ८७४ कित्ता शेयर ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर बढेको छ ।  आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनि, नेपाल रिइन्सुरेन्स कम्पनि र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ इमर्जिङ नेपाल लिमिटेडको शेयर ९.९२ प्रतिशतले बढेको छ । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य सबैभन्दा बढी ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनिको २६  करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

८- हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो । हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय  रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो । पहिलो चरणमा उत्तरी गाजाबाट माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै हमासले दक्षिणी गाजाबाट छोडेका १३ बन्धकमा ३६ बर्षिय एल्काना बोहबोट, २१ बर्षिय रोम ब्रास्लाव्स्की, २१ बर्षिय निम्रोद कोहेन, ३५ बर्षिय डेभिड कुनियो, २८ बर्षिय एरियल कुनियो, २४ बर्षिय इभ्यातार डेभिड, ३७ बर्षिय म्याक्सिम हर्किन, ३९ बर्षिय इटान हर्न, २७ बर्षिय सेगेभ क्याल्फन, २३ बर्षिय बार कुपरस्टेन, २५ बर्षिय योसेफ-चैम ओहाना, ३२ बर्षिय अविनाथन वा र  २५ बर्षिय मतन जङ्गाउकर रहेका छन् । हमासले आफुहरुसँग भएका जीवित बन्धक सबै हस्तान्तरण गरेको जानकारी गराएको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । नेपाली युवा विपिन जोशी भने जीवित नभएको इजरायली सेनाले परिवारलाई जानकारी गराएको इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले जानकारी गराएका छन् । यद्यपी विपिन जोशीका परिवारले  विपिन फर्किनेमा आफुहरु आशावादी रहेको बताएका छन् । 

९- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपाल र कोरियाबीच  आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै  राजदूतसँगको भेटमा मन्त्री घिसिङले नेपालको ऊर्जा सन्तुलन, विद्युत निर्यातका लागि ठूला  जलाशयुक्त जलविद्युत आवश्यक रहेकाले पाँच सय मेगावाटभन्दा ठूला त्यस्ता आयोजनामा सरकार–सरकार तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानीमा, कोरियामा सफल रहेको एवम् नेपालमा प्रचुर सम्भावना रहेको हरित हाइड्रोजनको उत्पादनलाई नमुना परियोजनाको रुपमा विकास गरी यसबाट मलखाद  उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका छन्  ।  रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन एवम् कोरिया जानुपूर्व सीप विकास तालिम र फर्किएपछि त्यहाँ हासिल सीपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलतामार्फत रोजगारी सिर्जनाका लागि सहयोग गर्न उनले आग्रह गरे । उनले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयात–निर्यात (एक्जिम) बैंकमार्फत प्राप्त हुने सहायतालाई छिट्टो टुङग्याउन,  रेल मार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारलयागतमा आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।  भेटमा कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।  आयोजनाको निर्माण प्रगति झण्डै ७० प्रतिशत रहेको र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (द्यचभबपत्जचयगनज–ब्रेक थ्रु) तयारी भइरहेकाले उक्त समारोहमा सहभागिता जनाइदिन र हालसम्म आयोजना अगाडि बढाउन सरकार र नेपाल विद्युत प्राधिकरणकातर्फबाट गरिएको सहयोगका लागि धन्यवाद दिए । कोरियाले नेपालको ऊर्जा क्षेत्रको विकासमा उल्लेख सहयोग  गरिरहेको कोरियाली कम्पनीलाई आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकहरुसँगको सहकार्यमा नेपालमा सेमिनार गर्न लागिएको जानकारी गराउनुकासाथै राजदूत पार्कले प्रसारण लाइन निर्माणमा सहायाता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको उल्लेख गरेका थिए ।

१०- जेनजीको एक समुहले सिन्धुपाल्चोकको भोटेकोशीमा सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर लिइएको छ । भोटेकोशी पावर कम्पनीको शेयर पाउनुपर्ने भन्दै एक महिनादेखि बन्द रहेको आन्दोलन रोक्न कम्पनीले १० प्रतिशत शेयर दिने सहमति गरिएको हो ।  आयोजनाका प्रतिनिधि, आन्दोलनरत भोटेकोशी जेनजी समूह, गाउँपालिका जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूबीचको सर्वपक्षीय बैठकले १० प्रतिशत निःशुल्क शेयर प्रदान गर्नेसहितको ५ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार भोटेकोशी पावर कम्पनीले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा गरिएको जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड कम्पनीलाई दिने उल्लेख गरिएको छ । सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् । प्रतिकित्ता एक सय रुपैयाँ दरका शेयर स्थानीयले लिन पाउने व्यवस्था गर्दै आवश्यक कर्जा बैंकमार्फत उपलब्ध गराउने र सो कर्जा आगामी एक वर्षभित्र आयोजनाको लाभांशबाट फछ्यौट गर्ने प्रावधानमा सहमति जुटाइएको छ । भोटेकोशी पावर कम्पनीले यसअघि स्थानीयलाई २०७१ पौष ९ गते नि: शुल्क ६ प्रतिशत शेयर दिने सहमति गरेकोमा अहिले स्थानीय जेनजी समुहले अवरोध गरेपछि त्यसलाई बढाएर १० प्रतिशत कायम गर्ने सहमति भएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

११- फिल्म 'मुगलान’ को फस्टलुक पोस्टर सार्बजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरिएको छ । रेहान प्रोडक्सनको ब्यानरमा बनेको  फिल्म ‘मुगलान’ को प्रदर्शन आगामी पुस १० गतेकालागि तोकिएको छ  ।  सार्वजनिक फस्टलुक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन् । फिल्मको पोष्टरले नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गरेको छ । आशिष ढकालले लेखन तथा निर्देशन गरेको यो फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन मगर (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको अभिनय रहेको छ ।  फिल्म ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने जनाइएको छ ।

१२- आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

१३- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्न निर्देशन दिएको छ । देशका सबै मेडिकल कलेज र अस्पताललाई निर्देशन दिदै मन्त्रालयको गुणस्तर मापने सभी नियमन महाशाखाले सो निर्देशन दिएको हो । साथै महाशाखाले गुणस्तर मापने सभी नियमन महाशाखा मन्त्रालयबाट मिति २०६१ मङ्सिर २७ को निर्णयानुसार नर्सिङ्ग एवं स्वास्थ्यकर्मीहरुको सुविधा सम्बन्धमा बुँदा कार्यान्वयनका लागि पत्राचार भएकोमा सोको कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र कार्यान्वयन अवस्था बारे मन्त्रालयमा प्रतिवेदन गर्न निर्देशन दिएको छ । महाशाखाले स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्नुपर्ने, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक प्रमाणपत्रहरु कार्यालयले राख्न नपाईने, अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङ्ग लगायत अन्य स्वास्थ्यकमीहरुको पारिश्रमिक बैकिङ्ग प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन दिएको छ । 

१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजार ४ सयले बढेर तोलाको २ लाख ४० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।

१५- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सचिवालयको बैठकमा सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेको बताएका छन् । महासचिव पोखरेलले केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् । आइतबार राति सम्पन्न एमालेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने पक्षमा आफुलाई उभ्याएको थियो । 

१६- नेकपा एकीकृत समाजवादीले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्‍याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्‍याउने निर्णय गरेको जानकारी दिएका छन् । त्यस्तै बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र सम्विधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र सम्विधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्वाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउदै निर्वाचनको तयारीमा जुट्ने निर्णय पनि भएको ज्वालाले जानकारी दिए । त्यसैगरी बैठकले पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गर्दै सो काममा सक्रियरुपमा लाग्न पार्टी र जन वर्गीय संगठनका सबै कमिटीहरुलाई निर्देश गर्ने निर्णय गरेको ज्वालाले जानकारी दिएका छन् ।

१७-  नेपाल क्रिकेट लिग (एनपीएपल) को च्याम्पियन टिम जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पुर्व खेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । मंसिर १ गते देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण अगाडि बोल्ट्सले चन्द्रपाललाई मुख्य प्रशिक्षक बनाएको हो । एनपीएलको पहिलो सिजनमा पुबुदु दासानायकेले जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए ।  ५१ वर्षे चन्द्रपाल वेस्ट इण्डिजका महान क्रिकेटर मध्ये एक हुन् । उनी आईसीसी हल अफ फेममा समावेश भइसकेका क्रिकेटर समेत हुन् । चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाएका छन् । २०२२ मा चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बनेका थिए भने सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए । आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्समा अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्री लगायतका खेलाडी रहेका छन् ।

१८- राप्रपामा फेरी विवाद बढेको छ । महामन्त्री डा. धवलशमशेर राणासहितका नेताहरुले महाधिवेशनको मिति तोक्न नेतृत्वलाई अल्टिमेटम दिएपछि अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिक्रिया दिदै यसलाई 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको संज्ञा दिएका छन् ।  राणा पक्षका नेताहरुले आइतबार भेला गर्दै अध्यक्ष लिङदेनले मङ्सिर १८ अघि महाधिवेशनको मिति घोषणा नगरे विशेष महाधिवेशनको माग गर्ने तयारीमा लाग्ने निष्कर्ष निकालेको थियो । त्यसको जवाफमा अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले भनेका छन्- 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भने जस्तै देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गरेको,संकट गहिरिँदै गएको बेला पार्टी चलाउँछु, परिआए देश चलाउँछु भनेर धक्कु लाएर उमेर बिताएका मानिसहरू पेटी इन्ट्रेस्ट 'पिटी इन्टरेस्ट' मा दौडेको देख्दा दया लागेर आउछ ।

१९- घाना फिफा विश्वकप फुटबलमा छनौट भएको छ । घाना अफ्रीका क्षेत्रबाट २०२६ को फिफा विश्वकपमा छनौट भएको हो । समुह आइ अन्तर्गतको खेलमा गएराती कोमोरोसविरुद्ध १-० को जित निकालेसँगै घानाको समुहमा १० खेलमा २६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।  योसँगै घाना पाँचौं पटक विश्वकपमा छनौट भएको छ । योसँगै अफ्रिका क्षेत्रबाट घानासहित अल्जेरिया, इजिप्ट, मोरक्को र ट्युनिसिया विश्वकपमा छनौट भएका छन् । यस पटकको विश्वकपमा अफ्रिकाबाट ९ देश छनौट हुने छन् भने एक देशले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्न पाउने छ ।

२०- अस्ट्रेलियाले जारी विश्वकपमा भारतमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो । भारतले दिएको ३३१ रनको बिशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियालाई जिताउने क्रममा कप्तान एलिसा हेलीले सर्बाधिक १४२ रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको भारतले ४८.५ ओभरमा अल आउट हुदै ३३० रन बनाएको थियो । भारतका लागि स्मृति मन्दानाले ८० र प्रतिका रावलले ७५ रन बनाएका थिए । यो जितपछि अस्ट्रेलिया ४ खेलमा ७ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भारतको भने यो ४ खेलमा दोस्रो हार हो । भारतको ४ खेलमा ४ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

सोमबार २७ असोज २०८२ ०७:२९ PM मा प्रकाशित

प्रतिक्रिया