×

कोकोहाको पानी धरान ल्याएपछि हर्षले भक्कानिए हर्क साम्पाङ

images

काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले आफ्नो वचन पूरा गरेका छन् । कोकोहाको पानी धरानमा नल्याएसम्म धरान आउदिनँ भनेर सार्वजनिक रुपमा वचनबद्धता गरेका मेयर साम्पाङ अन्ततः आफ्नो वचन पूरा गरेर मात्रै धरान आएका छन् । उनी तीन दिनदेखि फिल्डमै व्यस्त रहेका थिए । उनले श्रमदान अभियानबाटै ४० किलोमिटर पर बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी सोमबार राति धरानमा झार्न सफल भएका हुन्। 


सोमबार राति १२ बजे कोकाहाको पानी धरान उपमहानगरपालिका-२० स्थित पकुवा खोलामा झर्दा मेयर आफैं त्यहाँ पुगेका थिए। कोकाहाको पानी आज मध्यराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास–आउट पोइन्टमा झार्न सफल भएका हुन् । धरानमा पानी खसालेपछि टिकटिकमा उक्त भिडिओ समेत धेरैले हेरेका छन् ।

श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि मेयर भावुक बनेको अनि रोएको भिडिओ भाइरल भएको छ । उनले सो क्रममा स्वदेश र विदेशका दाता, संघ/संस्था, श्रम अभियानमा संलग्नहरूलाई हार्दिक आभार व्यक्त गरे ।  त्यहाँ उनले आफूलाई विश्वास गरेर रातदिन साथ दिनेहरुलाई धन्यवाद पनि दिए। मेयर साम्पाङसँगै उपमेयर आइन्द्रविक्रम बेघा पनि साथमा थिए। उनले पनि धरानले इतिहास बनाउन सफल भएको बताए। 

कोकाहा खोलाको पानी बराहक्षेत्रको ४० किलोमिटर छिचोलेर धरान २० स्थित हात्तीसारमा झारिँदैछ। कोकाहाको पानी धरान ल्याउन करिब ४ करोड रुपैयाँ, पाइप र अन्य जिन्सी सामान सहयोग जुटेको थियो। 

मङ्गलबार ३० जेठ २०८० ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया