×

एमसिसी पारित भएपछिका कामबारे जनतालाई जानकारी दिन माग

images

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले एमसिसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएपछिको कामको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले एमसिसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएसँगै नेपाल सरकारले त्यस सम्बन्धमा गरेका काम जनताले थाहा पाउनुपर्ने बताएका हुन् ।

उनले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरू उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे ।

सांसद रावलले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे ।

‘एमसिसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानलाई यथावत राखेर त्यसलाई अनुमोदन गरिएपछि केही मानिस अब नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्छ भनेर चिच्याइरहेका छन् । देशभक्त नेपालीको आवाजलाई खिसीट्युरी गरेर, राज्यको संयन्त्र प्रयोग गरेर देशभक्तमाथिको दमनलाई चर्काउने षड्यन्त्र गरिँदैछ,' उनले भने ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भए पनि सरकार नबोलेको टिप्पणी गरे । नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण तत्काल रोक्नुपर्ने उनले बताए ।

‘दार्चुलामा महाकालीको बहाव भारतले नेपालतर्फ फर्काउँदैछ । तर, सरकार मौन बनेर समाचार प्रकाशित भइरहेको छ । यथार्थ यो भइरहेको पनि हो । यस्तो बेला सरकार किन बोल्दैनन् ?' उनले भने । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ ।

 

आइतबार​ २९ फागुन २०७८ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया