काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् । आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो । आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ । आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको उनले बताए । आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै उनले भने- 'हाम्रो मूल्यांकनअनुसार, तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन ।’ प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीनबुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो । जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको उनले बताए । यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए । यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफै निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ । आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दै छ । यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ । हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अवगत गराए । हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उनको भनाइ छ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताए । उनले त्यसअघि दलहरूसँग पुनः छलफल गरिने बताए । प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राखेकी थिइन् ।
२- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको एमालेले मदन भण्डारी र उनका परिवारलाई अपमान गर्ने काम गरेको आरोप लगाएका हुन् । प्रचण्डले भने- 'एमाले मदन भण्डारीको लाइनबाट अलग बाटोमा गएको छ । ओलीले नै मदन भण्डारीलाई बहुविवाह गरेको र सहकारी ठगेको भनेर अपमान गरे । मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई नै सदस्यता नदिने भनेपछि कुन तहको अपमान भएको छ, सजिलै बुझ्न सकिन्छ ।' प्रचण्डले एमालेलाई दम्भ र अहंकारको घर भएको भन्दै ओलीले आफु जस्तै नेतालाई भित्र्याएको व्यंग्य गरेका थिए ।
३- बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रा.लिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।
४- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटका घाइतेहरुलाई अस्पताल पुगेर भेट गरेका छन् । मोदीले बुधबार लोक नायक जयप्रकाश नारायण (एलएनजेपी) अस्पताल पुगेर विस्फोटका घाइतेहरुसँग भेट गर्दै यस षड्यन्त्रका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने र न्यायको कठघरामा उभ्याउने बताएका छन् । मोदी आजै भुटानबाट फर्केर सिधै अस्पताल गएका थिए । उनले घाइतेहरूसँग कुराकानी गरे र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । सोमबार लाल किल्ला ट्राफिक सिग्नल नजिकै एक कारमा भएको शक्तिशाली विस्फोटमा परेर १२ जनाको मृत्यु भएको थियो र २० जनाभन्दा बढी घाइते भएका थिए ।
५- अख्तियार दुरपयोग अनुसन्धान आयोगले झापाको दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपपत्र दायर गरेको छ । अख्तियारले शिक्षक निरौलाले २०५५ सालमा दीपिनी आधारभूत विद्यालय, दमक-५ झापाको प्रावि तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत २०७५ चैत्र २८ गते स्थायी नियुक्ति लिएको र सोहि विद्यालयमा प्रावि तह तृतीय श्रेणीको शिक्षकको रुपामा हालसम्म कार्यरत रहेकोमा उनले पेश गरेको बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको प्रमाण पत्र नक्कली भएको प्रमाणित भएको पुष्टि भएकाले बुधबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले निरौलाले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पुष्टि भएकोले शिक्षक पदमा कार्यरत रही तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरी कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ ।
६- नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका नेता भीम रावलले नेकपा विघटन हुदाको पिडा अहिले बिर्सेको बताएका छन । मातृभूमि जागरण अभियान, नेपाल, नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने कार्यक्रममा बोल्दै नेता रावलले एक जनाको सत्ता मोहले तत्कालिन नेकपा विघटन भएको भन्दै अहिले आफुले त्यी पिडा बिर्सेको महसुस भएको बताएका हुन् । उनले भने- 'हामीले धेरै ठुलो आकांक्षा राखेर कम्युनिष्ट पार्टीलाई सशक्त र शक्तिशाली बनाएर मातृभूमि नेपालको मुहार उज्यालो बनाउनको लागि दोस्रो केन्द्रीय कमिटीको बैठक यहि राष्ट्रिय सभामा भएको मलाई सम्झना भइरहेको छ । हामीले दोस्रो कमिटीको बैठकमा बाहिरी हस्तक्षेपका सांगलाहरुलाई चुडालेर २००६ सालमा स्थापित कम्युनिष्ट पार्टीको राजनीतिक आर्थिक संस्कृतिक उद्धेश्यलाई सफल पार्न गरेका बाचा र संकल्पहरु एक जनाको अहंकार, सत्ता स्वार्थ, विरोधी राजनीति दलसँग भएपनि असिमित सत्ता लिप्तको कारणले ढलेको नेकपाको त्यो इतिहासलाई आज म स्मरण गरिरहेको छु । आज फेरी नयाँ संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको झण्डा लिएर उपस्थित हुदा म त्यो बेलाको दुख र गह्रौं मनलाई बिर्सेको छु ।' उनले नेपाली कम्युनिष्ट पार्टीले देशको स्वाधीनताको रक्षा गर्नुपर्ने र कृषि क्रान्ति गर्नुपर्ने बताउदै कम्युनिष्ट पार्टीको ७५ बर्षको इतिहासमा आफ्नो संस्कृतिलाई जोगाउन नसकेको बताए । उनले विगतमा जे भएपनि अब नेपाली कम्युनिष्ट पार्टीले हाम्रो संस्कृति जोगाउन अभियान चलाउने बताएका छन् । देशको राष्ट्रिय सुरक्षा दुई दिनमै ढलेको भन्दै अब नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
७- मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो । संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ । मधेश प्रदेशका ७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए । यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । मंगलबार रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको छ । साथै इजलासले यस रिटमा कारण देखाउ आदेश समेत दिदै मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको थियो ।
८- नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४. ५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२१ कम्पनिका ८४ लाख ४ हजार ६१६ कित्ता शेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज भूगोल इनर्जी,सागर डिस्टिलरीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । दारमखोला हाइड्रोको शेयरमा ८.७२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ३४ लाख कारोबार भएको छ भने राढ़ी बिद्युतको २२ करोड १४ लाख बराबर कारोबार भएको छ ।
९- मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो । संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ । मधेश प्रदेशका ७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए । यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । मंगलबार रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको छ । साथै इजलासले यस रिटमा कारण देखाउ आदेश समेत दिदै मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको थियो ।
१०- भारतको विहारको विधानसभा चुनावमा रेकर्ड ६६.९१ प्रतिशत मतदान भएको छ । यो १९५१ पछि राज्यमा सबैभन्दा बढी मतदान हो । १९५१ मा विहारमा ७१ प्रतिशत मतदान भएको थियो । यसैबीच, यस पटक बिहारमा यसको इतिहासमा सबैभन्दा धेरै महिला मतदाताहरूले मतदान गरेको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । विहारमा नोभेम्बर ६ र ११ मा दुई चरणमा मतदान भएको थियो । विहारमा महिलाहरूले ७१.६ प्रतिशत रेकर्ड मतदान गरेका छन् जबकि पुरुषहरूले ६२.८ प्रतिशत मतदान गरेका छन् । यस तथ्याङ्कमा सेवा मतदाता, ट्रान्सजेन्डर व्यक्तिहरू र हुलाक मतपत्रहरू समावेश नरहेको बताइएको छ । अन्तिम तथ्याङ्क निर्वाचन आयोगले पछि जारी गर्ने बताएको छ । साथै, पहिलो पटक, छ देशका १६ प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय चुनाव पर्यवेक्षक कार्यक्रम अन्तर्गत मतदान प्रक्रिया अवलोकन गरेका थिए । यसमा दक्षिण अफ्रिका, इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, बेल्जियम र कोलम्बियाका प्रतिनिधिहरू समावेश थिए । २४३ विधानसभाक लागि भएको मतदानमा २६१६ उम्मेदवार चुनावी मैदानमा थिए । यस चुनावका लागि ७ करोड ४५ लाख मतदाता रहेका थिए । चुनावको मतगणना नोभेम्बर १४ मा हुने छ ।
११- नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाई भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका थिए । खापुङ आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जादैछन् । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । कार्की २०८४ को चैत्र १७ गतेसम्म महानिरीक्षकको भूमिकामा रहने छन् ।
१२- नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' बीच आज पेरिसडँडामा सहमती पत्रमा हस्ताक्षर भएको छ । बुधबार सात बुँदे सहमतिपछि आजै राष्ट्रिय सभा गृहमा घोषणा सभा समेत योजना हुदैछ । पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने र सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने लगायतका सात बुँदे सहमति गरिएको छ । सहमतिको विवरण: नेपाली जनताको आकांक्षा तथा देशको आवश्यकता अनुरुप शासन प्रणाली, अर्थव्यवस्था, संस्कृति तथा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउन विभिन्न समयमा शान्तिपूर्ण र संशस्त्र संघर्ष र जनआन्दोलन भए । यसबाट महत्वपूर्ण उपलब्धिहरु पनि हासिल भए । यही क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । तर अहिले देश अत्यन्त विषम परिस्थिति र जटिल समस्याहरुको सामना गरिरहेको छ । राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती छ । देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रुपान्तरणको अभिभारा छ । यही यथार्थलाई मनन गर्दै नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालका बीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्न निम्नलिखित सहमतिका साथ संगठनात्मक एकीकरणमा सहमत भएका छौंः १- नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने । २- समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने । ३- आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने । ४- नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने । ५- पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने । ६- पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने । ७- पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।
१३- रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ । बुधबार आयोगले रेशम चौधरीसहित दलका प्रतिनिधिलाई दर्ताको प्रमाण पत्र दिएको हो । नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले कार्तिक १४ गते नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । नागरिक उन्मुक्ति पार्टी, नेपालमा चौधरी संरक्षक रहेका छन् भने अध्यक्षमा कबीर सोप रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् ।
१४- सरकारसँग वार्ताका लागि सिंहदरबार पुगेको दुर्गा प्रसाईंको समूहले २६ बुँदे माग राखेको छ । वार्तामा सहभागी भएका प्रसाईंको समूहका सदस्यहरुले राजसंस्था फर्काउनुपर्ने, हिन्दुराष्ट्र स्थापना गर्नुपर्नेसहितका मागहरु सरकार समक्ष राखेका छन् । प्रसाईंका तर्फबाट गरिब जनताको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने मौका पाउनुपर्ने सहितका माग समेत राखिएको छ । वार्तामा दुर्गा प्रसाईँ आफैं भने वार्तामा प्रत्यक्ष सभागी भएका थिएनन् । प्रसाईँको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, र मकबुल साह सहभागी रहेका थिए । सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो ।
१५- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा कर्मचारी कटौती शुरू भएको छ । प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनपछि निगमले हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान संख्याको आधारमा मासिक ज्यालादारीमा काम गरिरहेका ६ जना कर्मचारीलाई हटाएको छ । निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको जानकारी गराएको छ ।
१६- पाँच तारे होटल ह्यातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ । ह्यात रिजेन्सी होटलका महाप्रबन्धक आशिष कुमारले सुचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागु हुने गरि सम्पूर्ण कर्मचारीलाई कटौती गरेको जानकारी दिएका हुन् । उनले भदौ २४ गते होटलमा भएको आगजनी र लुटपाटपछि मर्मत गर्न करोडौं खर्च हुने र होटलको आर्थिक अवस्था नाजुक बनेको तथा भदौ २४ मा होटलको चौथो तलाबाट हाम फालेर घाइते भएका विदेशी पर्यटकको मृत्यु भएपछि अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातिमा नकारात्मक प्रभाव परेको समेत बताएका छन् ।
१७- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३१७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३१७० मा कारोबार भएको थियो ।
१८- नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले समाजवादी मोर्चाबाट अलग भएको छ । विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् । उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष रहेको भन्दै समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्: २०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौं । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभव बनेन । जेन - जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरुमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागि बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।
१९- बलिवुडका दिग्गज अभिनेता धर्मेन्द्रलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । परिवारले घरमै उपचार जारी राख्ने निर्णय गरेको हुनाले डाक्टरले अब उनको उपचार घरमै गरिने बताएका छन् । यस विषयमा परिवारले आधिकारिक विज्ञप्ति पनि जारी गरेको छ । परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ- 'धर्मेन्द्रजीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र घरमै आराम र उपचार जारी राख्नुहुनेछ । हामी मिडिया र आम जनतालाई विनम्रतापूर्वक अनुरोध गर्दछौं, कृपया कुनै पनि अनुमान नगर्नु होला र यस समयमा उहाँ र उहाँको परिवारको गोपनीयताको सम्मान गरिदिनुहोला । उहाँको निरन्तर स्वास्थ्यलाभ, सुस्वास्थ्य र दीर्घायुको लागि हामी सबैको माया, प्रार्थना र शुभकामनाको लागि हार्दिक आभारी छौं ।' धर्मेन्द्रको स्वास्थ्यको बारेमा जानकारी दिँदै ब्रिच क्यान्डी अस्पतालका डा. प्रीतित सम्दानीले भनेका छन्- 'धर्मेन्द्रजीलाई बिहान ७:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । परिवारले उहाँको उपचार घरमै गर्ने निर्णय गरेको हुनाले अब उहाँको उपचार घरमै गरिनेछ ।' गत सोमबार स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना भएका धर्मेन्द्र बारे मंगलबार निधन भएको हल्ला चलेको थियो । मिडियाले निधन भएको समाचार प्रशारण प्रकाशन गरेपछि उनकी पत्नी हेमा मालिनी र छोरी इशा देओलले आपत्ति जनाउदै धर्मेन्द्र जीवित रहेको र उपचार जारी रहेको बताएका थिए ।
२०- गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ । गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार आजदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिनको ४ बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो । पूर्वपश्चिम राजमार्गको गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको छ ।
प्रतिक्रिया