×

पर्वतीय पदयात्रामा जाने यात्रुको उपचार

images


काठमाडौँ, ३० जेठ : हिमालय उद्धार सङ्घले वसन्त ऋतुमा पर्वतीय पदयात्रामा जाने एक हजार बढी स्वदेशी तथा विदेशी यात्रीको उपचार गरेको छ ।
      
    विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले वसन्त ऋतुमा सगरमाथा र मनाङ क्षेत्रमा जाने एक हजार एक सय ५३ नेपाली तथा विदेशी पदयात्रीको उपचार गरेको हो ।
      
    सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी नेपाली पदयात्रीलाई निःशुल्क र विदेशी पदयात्रीलाई थोरै शुल्क लिएर स्वास्थ्य सेवा प्रदान गरेको हो ।
     
    सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द बस्यालले वसन्त ऋतुमा मात्र एक हजार नौ सय नेपाली र तीन सय ४४ विदेशी बिरामीको स्वास्थ्योपचार गरेको राससलाई जानकारी दिनुभयो ।
      
    सङ्घले मनाङ स्वास्थ्य चौकीमा एक सय ५१ नेपाली, एक सय छ विदेशी, फेरिचे स्वास्थ्य चौकीमा तीन सय २१ नेपाली, एक सय ३० विदेशी र सगरमाथा आधार शिविरमा पाँच सय ३७ नेपाली तथा एक सय आठ विदेशी बिरामीको स्वास्थ्योपचार गरेको हो ।
      
    यसबाहेक पर्वतीय पदयात्रामा गएका नौ सय ८७ स्वदेशी तथा विदेशी पर्यटकलाई लेक लाग्ने समस्याका बारेमा जनचेतना प्रदान गरिएको थियो । सोही याममा एक सय ५० सिकिस्त बिरामी र पाँचजना बिरामीलाई घरमै गएर उपचार गरिएको सिइओ बस्यालले बताउनुभयो ।
      
    वसन्त ऋतुको सुरुआतसँगै चैतदेखि आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटिएको थियो । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले चैतमा वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु तथा मनाङको तीन स्थानमा पठाएको थियो ।
      
    सङ्घका अध्यक्ष डम्वर पराजुलीले वसन्त ऋतुको सुरुआतसँगै कार्यक्षेत्रमा खटिने स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने तथा अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताउनुभयो । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ ।
      
    सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा अस्थायी स्वास्थ्य चौकी स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष पराजुलीले बताउनुभयो । 
–––

बुधबार २९ जेठ २०८१ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया