काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका उनी आज अदालतमा उपस्थित भएका थिए । न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सकिएपनि उनको थुनछेक बहसभने आज रोकिएको छ । इजलासले उनको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । रविलाई न्यायिक हिरासतमा राख्ने आदेश भएको छ । रविलाई आज काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिने बताइएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । 'उहाँलाई न्यायिक हिरासतमा पठाइएको हो । बयान सम्पन्न भए पनि थुनछेक बहस भएर अन्तिम आदेश नआएकाले न्यायिक हिरासतमा पठाइएको हो । सोमबारदेखि थुनछेक बहस हुन्छ,' शर्माले भने ।
लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिए पनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । 'इजलासमा बयान सकियो ।२०-२५मिनेट समय बाँकी थियो । लामिछानेका तर्फबाट थुनछेक बहस गरौं भन्ने प्रस्ताव गर्यौं तर सरकारी वकिलले अध्ययन गर्नुपर्नेछ भन्नुभयो । न्यायाधीशले पनि आज समय पुगेन भन्ने कुरा गर्नुभयो र प्रहरीको जिम्मा लगाउनुभयो,' न्यौपानेले भने, 'कानुन व्यवसायी वा परिवारको जिम्मा लगाइदिनुस् भन्दा न्यायाधीशले मान्नुभएन र प्रहरीको जिम्मा न्यायिक हिरासतमा पठाउनुभयो । अब भोलि थुनछेक बहस हुन्छ ।'
लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो । लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका थिए । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पनि उनी प्रतिवादी थिए ।
प्रतिक्रिया