×

बझाङमा भीषण जिप दुर्घटना: भीरबाट ३०० मिटर तल खस्यो, ३ जनाको घटनास्थलमै मृत्यु, १२ जना गम्भीर घाइते (अपडेटसहित)

images

बझाङ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा शनिबार दिउँसो एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको दुःखद निधन भएको छ भने अन्य १२ जना यात्रु गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्गाथली र केदारस्यूँ गाउँपालिकाको सिमानामा पर्ने विकट सुँगरे भीरबाट जिप करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनाको प्रकृति अत्यन्तै भयावह थियो, जसका कारण ३ जना यात्रुको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेहरूमा:
१. चक्रबहादुर महत (६० वर्ष, दुर्गाथली गाउँपालिका–६ चुवावन) 
२. केलादेवी महत (६५ वर्ष, दुर्गाथली गाउँपालिका–६ चुवावन) 
३. विमला धामी (३५ वर्ष, केदारस्यूँ गाउँपालिका–७) 

दुर्घटनामा जिपमा सवार चालकसहित बाँकी १२ जना यात्रुहरू सख्त घाइते भएका छन् । केदारस्यूँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक रहेको छ । घाइते हुनेहरूमा :

  • देवबहादुर धामी (जिप चालक, केदारस्यूँ–७)
  • रामबहादुर महत (पूर्व वडा सदस्य, दुर्गाथली–६) 
  • रामबहादुर महत (शिक्षक, दुर्गाथली–६) 
  • देबबहादुर जाग्री (शिक्षक, दुर्गाथली–६)
  • हासुली देवी महत (दुर्गाथली–६) 
  • झल्का देवी महत (दुर्गाथली–६) 
  • हर्का देवी महत (दुर्गाथली–६) 
  • जैमती महत (दुर्गाथली–६) 
  • धनशेर जाग्री (दुर्गाथली–६) 
  • नवराज धामी (दुर्गाथली–६) 
  • रमेश धामी (दुर्गाथली–६) 
  • बिरु जाग्री (दुर्गाथली–६) 

भौगोलिक रूपमा विकट र सडक सञ्जालको सहज पहुँच नभएको भीरमा दुर्घटना भएकाले स्थानीयबासी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा निकै कठिनाइ भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार घाइतेहरूको अवस्था निकै गम्भीर र चिन्ताजनक भएकाले स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधायुक्त प्रादेशिक अस्पताल वा नेपालगन्ज पठाउन हेलिकोप्टर परिचालनको पहल र समन्वय गरिएको छ ।

बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले घाइतेहरूको द्रुत उद्धारका लागि सुर्खेतबाट सेनाको हेलिकोप्टर घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिँदै स्थानीयबासीलाई संयमित रहन अपिल गर्नुभएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार ग्रामीण भेगको कच्ची, साँघुरो र हिलो भएको सडकमा क्षमताभन्दा बढी (चालकसहित १६ जना) यात्रु सवार रहेका कारण जिप मोडमा सन्तुलन गुमाएर खसेको हुनसक्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले घटनाको प्राविधिक कारणबारे पूर्ण अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।


शनिबार २७ असार २०८३ ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया