×

सरकार र गठबन्धनमा कुनै समस्या छैन,एमालेबिनाकाे अवस्था कल्पना नगरे हुन्छ- प्रधानमन्त्री केपी शर्मा ओली

images

रुपन्देही। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए।

नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोसिस गर्नेहरु असफल भएको टिप्पणी गर्दै भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन्। यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौँ। मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन्।’

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए। उनले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरुले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरेका छन्।

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गरे। देशका ठुला दलहरु नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो गठबन्धन आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरु ल्याएको अवगत गराए।

‘२४० वर्षको राजतन्त्रमा नेपालीको विकासकाे अवस्था कस्ताे थियाे, उनीहरूले नै भनुन् । विश्वमा राजतन्त्र भए पनि धेरै विकास भएको थियाे त यहाँ किन हुन सकेन ।’ उनले भने,’धार्मिक स्थल पहिले पनि थिए, बाटाेघाटाे पहिले नि जरूरत थियाे, विमानस्थल, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मुख्य राजमार्ग सबै कहिले बनेका हुन् ।’

‘एकातिर एमालेले मिसन ८४ अभियान चलाएकाे छ, विकासका याेजनामा धमाधम काम भइरहेकाे छ, प्रतिगामी तत्वहरूलाई छट्पटी भएको छ’ उनले भने,’केपीबिनाकाे अभियान चलाएकाले १५/२० वर्ष कुरे भयाे म सधैं बाँच्ने हाेइन तर एमालेबिनाकाे अवस्था कल्पना नगरे हुन्छ , त्याे नातिकाे पालामा नि हुँदैन जनता सचेत छन् ।’

उनले भने, ‘देश अघि बढ्याे, पछाडि फर्कदैन, जनता रैती भएर बस्न तयारी छैनन् कसैले मसानघाटमा लगिएको चिता फर्काएर ल्याउने कल्पना गरेका छन् त्याे दिवासपना मात्रै हाे ।राजतन्त्रमा शिक्षा, स्वास्थ्य, राेजगारीकाे अवस्था कस्तो थियाे सबैलाई जगजायर छ त, अहिले अफवाह गरेर हुन्छ एमालेले सरकारमा गएर केही गर्छ भन्ने उदाहरण धेरै छन् कति गरेकाे छ सबैलाई छर्लङ्ग छ त।’

‘प्रतिगमनका हल्ला चलेका छन तर मान्छेका घर जलाएर, मान्छे मारेर, स्याउसुन्तला चाेरेर हुल्लडवाजी गर्ने तर आन्दोलनकाे जिम्मेवारी कसैले नलिने, यस्तो नि क्रान्ति हुन्छ’ उनले भने,’अब सबै युवाहरू जिम्मेवारी भएर यहीँ काम गर्ने गराउने वातावरण बनाउनुपर्छ । आउनुस् देश बनाउन सरकारले धेरै यस्ता कार्यक्रम ल्याएकाे छ ।’

सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

एमालेका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरु खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरुबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरिन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी थिए।

शुक्रबार​ २८ चैत २०८१ ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया