रुपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए। ‘समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन।
शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ। तपाईँहरूले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’, उनले भने।
उनले भने, ‘शिक्षकहरू प्रदर्शनमा हुनुहुन्छ। मैले अस्ति पनि भनेको थिएँ। प्रदर्शनमा गइरहनुपर्ने थिएन। ऐन पहिलेदेखि रोकिएर बसेको छ। त्यसलाई हामी तुरून्तै ल्याउँछौं भनेर भनिराखेका छौं। उपयुक्त ढंगले ऐन ल्याउँछौं। आफ्ना मात्रै हितहरूलाई हेरेर हुँदैन, राष्ट्रहित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरूको समाधान खोज्नुपर्छ। शिक्षक साथीहरूलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन। सरकार हरेक समस्याको समाधान गर्न चाहन्छ, तपाईंका समस्या पनि समाधान गर्न चाहन्छ। तपाईंहरूले पनि बुझ्नुपर्यो नि।’
मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ। प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा एकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे।
प्रतिक्रिया