×

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने

images

काठमाडौं। समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए। त्यसअघि चैत्र १ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने र त्यहि दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले बताए।

उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए। उनले देशलाई अशान्तितर्फ ढकेल्ने घटनालाई प्रतिकार गर्नका लागि आम जनतामा अपिल गरिने बताए।

साथै, मोर्चाले नेपाली जनताले आफ्नो व्यवस्था, मुक्ति र स्वाधीनताको निम्ति धेरै ठूलो संघर्ष गरेर प्राप्त गरेको र स्थापित गरेको गणतन्त्रको विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निश्कर्षसमेत निकालेको छ । नेता विश्वकर्माका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ विकसित कसरी गर्ने, अहिलेको समस्याहरु जे–जस्ता छन् त्यसलाई कसरी समाधान गर्ने र व्यवस्था अझ यो भन्दा कसरी उन्नत बनाउने भनेर चिन्तन गरिरहेका जनताले इतिहासमा तिरस्कृत भइसकेको राजतन्त्रलाई स्वीकार नगर्ने मोर्चाको निश्कर्ष छ ।

मोर्चाले जनताले तिरस्कार गरिसकेको राजा र राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने हर्कतलाई ‘ठूलो धृष्टता, देश र जनताको विरुद्धमा ठूलो प्रतिगामी षड्यन्त्र; संज्ञा दिएको छ । काण्डले अहिलेको परिस्थितिलाई सशक्त रुपमा प्रतिकार गर्नका निम्ति आम नेपाली जनताको बीचमा समाजवादी मोर्चाको तर्फबाट अपिल गरिने पनि बताए ।

मङ्गलबार २७ फागुन २०८१ ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया