×

मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

images

काठमाडौं– अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।  निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि दुवै टोलीबाट थप गोल हुन सकेन। त्यसअघि नेदरल्यान्ड्सले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा धकेलेको थियो।

टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। अर्जेन्टिनाको चौथो प्रहार गोल नभएपछि नेदरल्यान्ड्सको सम्भावना कायमै देखिएको थियो। तर पाचौँ प्रहारमा अर्जेन्टिनाका लौतारो मार्टिनेज चुकेनन्। टाइब्रेकरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीले गरेका थिए। नेदरल्यान्ड्सका कप्तान भान डायक भने पहिलो प्रहारमै चुके। दोस्रो प्रहार गर्न पुगेका स्टिभन बर्घुइसलाई पनि मार्टिनेजले निराश बनाएका थिए।

त्यसअघि ३५ औँ मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए।

७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरेका हुन्। ८३ औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा ल्याएको हो।

८३ औं मिनेटमा उट वेघोस्र्टले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्कने सम्भावना देखिएको थियो। अन्तिम समयमा नेदरल्यान्ड्सका वेघोस्र्टले नै गोल गर्दै अर्जेन्टिनालाई निराश बनाएका थिए। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेल्ने छ।

प्रतियोगितामा मेस्सीको गोल संख्या ४ पुगेको छ। यस खेलमा अर्जेन्टिनाका कप्तान मेसीले विश्वकपकमा सर्वाधिक १० गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान बराबरी गरे । यसअघि अर्जेन्टिनाका लागि गाब्रीएल बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका थिए ।

यस्तै मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा संयुक्त रुपमा दोस्रो स्थानमा उक्लेका छन् । जर्मनीका मिरोस्ला क्लोजसमान मेसीले विश्वकपमा २४ खेल खेले । मेसीले अब सेमिफाइनल खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने जर्मनीकै लोथर म्याथ्वुजको कीर्तिमान बराबरी गर्ने पक्का छ । फाइनल पुगेमा मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।

शनिबार २४ मंसिर २०७९ ०६:५३ AM मा प्रकाशित

प्रतिक्रिया