×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । ३० वर्षे सेवा अवधिका कारण वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

२- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । त्यस्तै सरकारले धनुषाका सुरेन्द्र लाभलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।

३-  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्बजनिक गरेको छ । क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार नोभेम्बर १७ मा पहिलो खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुने भएको छ । त्यस्तै लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ । त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ । त्यस्तै डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुने छ । क्यानले सबै खेलहरु बिहान ११: १५ र दिउसो ४ बजेको समय तोकेको छ । दुई खेल हुने दिन यस समयमा खेल हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउसो ४ बजेदेखि शुरु हुने छ । त्यस्तै क्यानले लिग चरणका चार खेल भने दिउसो साढे ३ बजे शुरु हुने उल्लेख गरेको छ । त्यस्तै फाइनल खेलपनि साढे ३ बजेदेखि नै शुरु हुने छ ।

४-  नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी लुम्बिनी लायन्सले अफगानिस्तानका क्रिकेटर गुलबदीन नैबलाई भित्र्याएको छ । ३४ बर्षिय ब्याटिंग अलराउण्डर नैबलाई लुम्बिनी लायन्सले भित्र्याएको जानकारी दिएको हो । लुम्बिनीले यसअघि इटालीका बलर थोमस ड्राकालाई भित्र्याएको थियो । राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, दुर्गेस गुप्ता र आदील खानलगायतका खेलाडी रहेका छन् । लुम्बिनीले भारतीय प्रशिक्षक टिनु योहन्नानलाई मुख्य प्रशिक्षक र रोबिन सिंहलाई मेन्टरको रुपमा अनुबन्ध गरेको छ ।

५- प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् । उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो। आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरुको धारणा थियो । स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गरेका थिए । छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो । गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गरे । स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उनले आग्रह गरेका थिए । स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । उनीहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

६- कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ । सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । कृषि तथा पशुपालन क्षेत्रतर्फको परीक्षाको सूचना यो परीक्षा सकिए पछि सार्बजनिक गर्ने शाखाले जानकारी दिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ ।  शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने शाखाले जानकारी दिएको छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो । प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने बताउदै निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उनले बताएकी थिइन् ।

७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टीलाई 'जेष्ठ नागरिक आश्रम' को संज्ञा दिएका छन् । एमालेको घर फरक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कहिले जेष्ठ नागरिक आश्रम खोलेको भन्दै अब आश्रम पुरा हुन बाग्लुङ र प्युठानकालाई जोड्न बाँकी रहेको भन्दै व्यंग्य गरेका छन् । ओलीको इंगित चित्रबहादुर केसी र मोहनविक्रम सिंहप्रति रहेको थियो । त्यस्तै ओलीले भीम रावलप्रति व्यंग्य गर्दै छैठौ वरियता पाएपछि नेपाली कम्युनिष्ट पार्टीमा गएको समेत आरोप लागाए । उनले काम गर्ने जति एमालेमा आइरहेको भन्दै 'जेष्ठ नागरिक' जति अरु पार्टीमा गएको बताए । ओलीले पार्टीमा रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेतालाई भित्र्याउदै उनीहरु बिना शर्त पार्टीमा फर्किएको स्पष्ट गरेका छन् । आफुले उहाँहरुलाई पद के चाहिन्छ भनेर सोधेको बताउदै उहाँहरुले पदको लागि होइन घर फर्किन चाहेको बताएको उल्लेख गरे । उनीहरुको यस भावनाको पार्टीले उचित कदर र सम्मान गर्ने समेत बताए ।

८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ३०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

९- जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ । बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गन देशभरीका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न साढे तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि क्रमशः दुई करोड र साढे एक करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सोही विभागबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन दुई करोड रुपैयाँ विनियोजन गरिएको छ ।  संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन एक करोड रुपैयाँ विनियोजन गरिएको छ । विभागमार्फत आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  बैठकले कोषमा संकलन भएको रकम एवम् भौतिक पूर्वाधार पुनर्निर्माण समितिको कामलाई सार्वजनिक र पारदर्शिता कायम गर्न छुट्टै www.rebuildnepal.gov.np नामक वेवसाइट सञ्चालन गर्ने निर्णय गरेको छ ।

१०- मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बन्न सक्ने अवस्था रहेकोमा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा शपथ गराएकी थिइन् ।

११-  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेता एमालेमा फर्किएका छन् । सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'घर फर्क अभियान' कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई पार्टीमा भित्र्याएका हुन् । ओलीले पार्टीमा फर्किएका नेताहरुलाई ब्याच र माला लगाइदिएर प्रवेश गराएका छन् ।

१२- प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन् । कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन् । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उहाँले बैठकको अध्यक्षता गरेकी हुन् । उनले बैठकमा भनिन्- 'धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन्। परम्पगत मान्यता र रीतिथितिहरु हुन्छन्। ती हाम्रा मौलिक संस्कृति हुन्। यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ। संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ। यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो। पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन। दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन। यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ। धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन। यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ।’

१३-  बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ भएका छन् । ८९ बर्षिय धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दैनिक भास्करले धर्मेन्द्रलाई स्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटर सपोर्टमा राखिएको उल्लेख गरेको छ । उनी उमेरसँगै हुने जटिलताबाट पीडित छन् । अभिनेता धर्मेन्द्र बलिवुडमा ६० र ७० को दशकका सुपरस्टार अभिनेता हुन् ।

१४- नेप्सेमा आज सामान्य गिरावट आएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारम खोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जीको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४८ करोड ८८ लाख कारोबार भएको छ भने युनियन हाइड्रोको २५ करोड ७८ लाख बराबर कारोबार भएको छ ।

१५- अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको वार्ता नहुने भएको हो । खेलाडीहरुले वार्ताको प्रत्यक्ष प्रशारण नगरेमा वार्ता नगर्ने अडान लिएपछि एन्फाका पदाधिकारीले सो प्रस्ताव अस्वीकार गरेपछि आफुहरु वार्तामा नबसेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले जानकारी दिएका छन् । एन्फाले ए डिभिजन लिग यसैबर्ष गराउनुपर्ने माग गर्दै खेलाडी आन्दोलनमा उत्रिएका छन् । अध्यक्ष लामाले सूचनाको हकअन्तर्गत आफुहरुले सबै सम्बन्धित पक्षले यसबारे जानकारी पाउनुपर्ने भन्दै वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गरेको बताएका छन् । उनले आफूहरुका आन्दोलनका कार्यक्रम लगातार गर्ने बताएका छन् ।  कात्तिक १७ मा एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमति अनुसार २०८३ को पुसदेखि ए डिभिजन गर्ने निर्णय गरेपछि खेलाडी आन्दोलित भएका छन् । पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन ।

१६-  मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने भएका छन् । मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन बुधबार हुने भएको छ । बुधबार दिउसो साढे १ बजे राष्ट्रिय सभामा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने जानकारी दिएको छ । कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने बताइएको छ । नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरि सहमति भएको बताइएको छ ।

१७-  मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो । विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी छन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले यसप्रति असन्तुष्टि जनाउदै मधेशका जनतासँग धोका भएको बताएका छन् । उनले भनेका छन्- मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश  प्रदेशकी  प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थको कुरा गरिन् ।' सोनलले विश्वासको मत नपाउने भएपछि शनिबार राजीनामा दिएका थिए । 

१८- नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, कबिता कुँवर, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, विन्दु रावल, पुजा महतो, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् । नेपाली राष्ट्रिय महिला टिमले भारतमा कुल ६ खेल खेल्ने छ । भारतको देहरादुनमा हुने खेलमा राजस्थान, बङ्गाल र उत्तराखण्डका टिमसँग खेल्ने छ । पहिलो खेल राजस्थानविरुद्ध नोभेम्बर १३ मा, उत्तराखण्डविरुद्ध नोभेम्बर १४ मा, नोभेम्बर १५ मा बङ्गालविरुद्ध, नोभेम्बर १७ मा राजस्थानविरुद्ध र नोभेम्बर १८ मा बङ्गालविरुद्ध खेल्ने तालिका रहेको छ । सबै खेल उत्तराखण्डको आयुष क्रिकेट एकेडेमीमा हुने क्यानले जनाएको छ ।

१९- नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो । विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थिति बारे छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटनका सम्बन्धमा केन्द्रीय समितिलाई दबाब दिनका लागि कांग्रेसका केहि सांसदले पनि हस्ताक्षर संकलन गरिरहेका छन् । जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ र सरकारले चुनावको तयारी गरिरहेको छ । 

२०- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाट नयाँ संसद आउने कुरामा कांग्रेस प्रष्ट रहेको बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने नेकपा एमालेको मागमा काँग्रेस पनि सामेल भएको भन्ने आशयका समाचार प्रकाशित भएपछि महामन्त्री थापाले यस बारेमा प्रष्ट पारेका हुन् । उनले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउने र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो भएको भन्दै यसमा कुनै अलमल नरहेको प्रष्ट पारेका छन् । महामन्त्री थापाले काँग्रेसमा देखिएको अहिलेको अलमल महाधिवेशनको विषयमा मात्र भएको बताउदै कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको स्पष्ट रूपमा प्रस्तुत गरेको र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय भएको बताएका छन् । उनले भनेका छन्:  फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ । निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ ।

सोमबार २५ कात्तिक २०८२ ०८:२२ PM मा प्रकाशित

प्रतिक्रिया