×

प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष तीन दलका प्रमुख नेताहरुबीच नेपाल प्रहरीले आफ्नो काम गरिरहेको र डिस्टर्ब नगर्ने सहमती भएको बताएका छन्।

बुधबार प्रधानमन्त्री कार्यालयमा शीर्ष तीन दलका नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आफ्नो काम गरिरहेको र डिस्टर्ब नगर्ने सहमती भएको प्रधानमन्त्री प्रचण्डले बताएका हुन्।

शीर्ष तीन नेताहरुको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं। दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ।

जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ। प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ।’

उनले थपे, ‘मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमा यो छलफल भएको होइन। सदनलाई कसरी सुचारु गर्ने, समितिहरु गठन गर्ने विषयमा बढी छलफल भइरहेको छ। जहाँसम्म यो पछिल्लो घटनाबारे छ, दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा हामी एकमत छौं। प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्षले बुधबार प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरेका थिए।

बुधबार २७ बैशाख २०८० ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया