×

जिल्ला प्रशासनद्वारा काठमाडौंका विभिन्न पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी

images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिप्रकाले आइतबार (फागुन २५ गते) देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी भएका क्षेत्रहरु राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर रहेको छ । ती क्षेत्रहरुमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने बताइएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जानें अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यस अघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा देहायको क्षेत्रमा मिति २०८१/११/२५ गतेदेखि लागु हुने गरी २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’– जिप्रकाबाट जारी भएको आदेशमा भनिएको छ ।

निषेधाज्ञा जारी भएका स्थानहरुः

  • शितल निवास (राष्ट्रपति कार्यालय)महाराजगंज क्षेत्र
    उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म,पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म ।
  • हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र
    केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म ।
  • प्रधानमन्त्री निवास वालुवाटार क्षेत्रः
    वालुवाटार पवित्र वर्कशप चोकदेखि नेपाल राष्ट्रबैंक हुँदै इटालिया चोक र सो चोकदेखि भाटभटेनीतर्फ ५० मिटरसम्म,
    इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रिय सभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म,
    प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म,
    प्रधान न्यायाधीश निवासको मोडदेखि पूर्व दक्षिणतर्फ राष्ट्रिय सभा अध्यक्षको निवासको मोडसम्म,
    राष्ट्रबैक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म ।
  • सिंहदरबार क्षेत्र
    भद्रकाली मन्दिर (तिनकुने आइल्याड ) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म, सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म
    पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, ० सिंहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म,
    पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
    जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म |
  • संसद भवन नयाँ बानेश्वर क्षेत्रः
    संसद भवनको चारैतर्फको सडकक्षेत्र,
    संसद भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ ३०० मिटरसम्म,
    बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटरसम्म ।
सोमबार २६ फागुन २०८१ १०:४९ PM मा प्रकाशित

प्रतिक्रिया