×

एमसीसी रोक्ने प्रचण्डको अन्तिम अस्त्र ‘सभामुख सापकोटा’

images

काठमाडौं। जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि एमसीसी पारित गर्न नदिने रणनीतिमा प्रचण्ड प्रस्तुत भएको खुलेको छ । उनले एमसीसी थाती राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भने । काँग्रेसको संस्थापनइतर पक्षका नेता डा। शेखर कोइरालासँग कुराकानी गरेर पनि थाती राख्न साथ दिन भने । एमसीसी पारित गरेर जाँदा चुनाव नजितिने भन्दै थाती राखेर गठबन्धन बनाएर जाँदा चुनाव जितिने तर्क प्रचण्डको थियो । त्यसमा काँग्रेसका कुनैपनि नेता सहमति भएनन् । बरु काँग्रेस नेताहरु एमसीसी पारित गर्ने पक्षमा एकमत देखिएका छन् ।


विश्वस्त स्रोतका अनुसार प्रचण्डको अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग पनि टेलिफोन वार्ता भइसकेको छ । वार्तामा एमसीसीबारे कुराकानी भएको थियो । प्रचण्डले एमसीसीलाई पछि टुंगोमा लाने कुरा गरेको बुझिएको छ । उनी कुनै हालतमा एमसीसी पारित हुन नदिने रणनीतिमा लागेको सन्देश गइसकेको छ ।

प्रचण्डले एमसीसीबारे निर्णय लिने भन्दै २९ सेप्टेम्बर २०२१ मा अमेरिकालाई पत्र लेखेको खुलिसकेको छ । देउवासँग संयुक्त पत्र लेख्दा पाँच महिनाको समय मागिएको थियो । तर, प्रचण्डले एमसीसी रोक्न चीनलाई पनि वचन दिइसकेकाले अगाडि बढ्न नसक्ने भएका छन् ।

अदालतमा केही महिना अगाडि एमसीसी रोक्ने उद्देश्यले दायर मुद्दामा अदालत प्रतिनिधिसभाको विषय भनेर पन्छिदियो । यसमा पनि प्रचण्डले अदालतमार्फत् एमसीसी अलमलाउन खोजेकोमा सफल भएनन् । उनी आफै एमसीसी रोक्न नलागेको जसरी उम्कन खोजेकोमा सकेनन् । सबै कुरा खुलिसकेपछि प्रचण्ड अब भने खुलेरै लाग्ने अवस्था निर्माण भएको छ ।

अब प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटामार्फत् एमसीसी रोक्ने अस्त्र तयार गरेका छन् । सभामुख सापकोटा एमसीसी टेबुल नगर्ने पक्षमा उभिइसकेका छन् । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भेट्दा पनि सापकोटाले घुमाउरो तरिकाले एमसीसी टेबुल गर्ने परिस्थिति नभएको जवाफ दिएका थिए । उनले एमालेको सदन अवरोधतर्फ औल्याएका थिए ।

सापकोटामार्फत् प्रचण्डले एमसीसी रोक्न टेबुल नगर्ने बरु सदनमा सभामुख हटाउने प्रस्तावको सामना गर्ने सम्मको तयारी गरेका छन् । सभामुख हटाउन दुई तिहाई चाहिने र त्यो पुग्न नदिने रणनीतिमा उनी लागिसकेका छन् । त्यसका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीभित्रका एमसीसी विरोधीलाई हातमा लिने सम्मको तयारी भइसकेको छ ।

बिहीबार २७ माघ २०७८ ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया