×

जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्रीको निर्देशन

images

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासिक÷अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउन सक्ने गरी कार्य सम्पादन गर्नु पर्दछ ।”

उनले जवाफदेहिता र जिम्मेवारीबाट पन्छेर परिणाम दिन नसकिने बताउँदै चालू अर्धवार्षिक अवधिमा पूँजीगत खर्च सन्तोषजनक नरहेकाले त्यसलाई वृद्धि गर्न निर्देशन दिए । असारमा बजेट सक्ने गरी हतारमा काम गर्ने परिपाटीको अन्त्य गरी वैशाखभित्रै लक्ष्यअनुसार कार्यसम्पादन गर्न पनि मन्त्री कार्कीले जोड दिए ।

 

उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा मन्त्रालयअन्तर्गत १४२ वटा माइलस्टोनको कार्यान्वयन गर्ने लक्ष्य राखेकामा हालसम्म जम्मा ४७ वटाको मात्र कार्य सम्पन्न भएकाले बाँकी माइलस्टोनको पनि यथासमयमा कार्यान्वयन गर्न निर्देशन दिए ।

मन्त्री कार्कीले मुलुकमा चरम विद्युत् भार कटौती रहँदा आफू ऊर्जामन्त्री भएको र त्यतिबेला विभिन्न नीतिगत निर्णय गरेको परिणाम आज मुलुक विद्युतमा आत्मनिर्भर बन्न सकेको प्रसङ्ग उल्लेख गर्दै अहिले पनि आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी लिइरहँदा दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन चाहेको बताए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले कोभिडको अवस्थामा सञ्चार मन्त्रालयअन्तर्गतका निकायको भूमिका प्रशंसनीय रहेको भए पनि चालू आर्थिक वर्षका लागि निर्धारण गरिएका लक्ष्यको कार्यान्वयन भने सन्तोषजनक नरहेको बताइन् । उनले पूँजीगत खर्च बढाउन आग्रह गर्दै समाजमा बढ्दो साइबर अपराधलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । 

मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले वित्तीय खर्च र प्रगतिबीच तालमेल हुन नसक्दा छ महिनाको अवधिमा प्रगति सन्तोषजनक भएको भन्दै विभिन्न मन्त्रालय र सञ्चार मन्त्रालयका अन्तर निकायबीच समन्वय वृद्धि गरी कार्यसम्पादनलाई तीव्रता दिन निर्देशन दिए । 

 

बिहीबार २७ माघ २०७८ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया