×

मधेस सरकारले ‘जनयुद्ध’का सहिदलाई तीन/तीन लाख दिने

images

जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘जनयुद्ध’का सहिद परिवारलाई आर्थिक सहयोग गर्ने प्रक्रिया अगाडि बढाएको छ । यस वर्ष जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशका ३२ सहिद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्न लागिएको हो ।

आउँदो फागुन १ गते प्रदेशका प्रत्येक जिल्लाबाट चार/चार सहिद परिवारलाई पहिलो चरणमा एक लाख रुपैयाँका दरले सहयोग गर्न लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार मधेसी सहिद प्रतिष्ठानमार्फत तीन चरणमा गरी प्रत्येक सहिद परिवारलाई तीन/तीन लाख रुपैयाँ दिने तयारी छ । बाँकी सहिद परिवारलाई जिल्लामै गएर सहयोग रकम दिइने उनले बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही रकम हस्तान्तरण गर्न जनकपुरधाम आउन लागेका छन् । उनको उपस्थितिमा जनयुद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्न कर्भडहलमा कार्यक्रमको आयोजना गरिएको छ ।

मधेस आन्दोलन र जनयुद्धका सम्पूर्ण सहिद परिवारलाई आर्थिक सहयोग गरिने बताइएको छ । यसअघि, यही माघ ५ गते बलिदानी दिवसका दिन पनि सरकारले मधेस आन्दोलनका सहिद परिवारलाई तीन/तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

मधेस आन्दोलनका ५९ सहिद परिवारलाई तीन लाखका दरले र घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि तीन लाख रुपैयाँसम्म रकम वितरण गरिएको थियो ।

सरकारले गत वैशाख १ गते सहिद प्रतिष्ठान गठन गरेको थियो ।

 

बिहीबार २७ माघ २०७८ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया