×

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद , माग पूरा भए सरकारमा सहभागी हुने (नामावलीसहित)

images

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले माग पूरा भए सरकारमा सहभागी हुने  बताएको छ।  शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो। 

पार्टीका नेता चौधरी लगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए। 

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ । साथै रेशमलाल चौधरी संरक्षक रहेको पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।

महासचिव थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दमोदर पण्डितको नाम टुंग्याइएको छ । यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरिएको हो । मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरिएको महासचिव थापाले  जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ  भने प्रदेशतर्फ ७ सिट जितेको हो । यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो ।
 

शुक्रबार​ २३ मंसिर २०७९ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया