×

देशको समृद्धिका लागि राजनीति : सञ्चारमन्त्री

images

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताउनुभएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उहाँले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताउनुभयो ।

 मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको कुरा पूरा गर्दै आएको दाबी गर्नुभयो । विकासबिनाको राजनीति जनताका लागि धोका हुने बताउँदै उहाँले आफूले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्नुभयो । वराहक्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत्लगायत क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफू लागिपरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । भन्टाबारीदेखि धरानसम्मको पुरानो रेल्वेमार्गलाई सडकमार्गको रूपमा स्तरोउन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाका लागि काम गर्ने बताउनुभयो । 

सोही कार्यक्रममा सप्तकोसी क्याम्पसको प्राध्यापक सङ्घ एकाइ समितिमा निर्वाचित सभापति केशव पुरी, उपसभापतिमा उमेश खड्कासहितका पदाधिकारीलाई मन्त्री कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँको पहलबाट भारतीय दूतावासबाट उपलब्ध क्याम्पस बससमेत उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, कोसी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीलगायतको सहभागिता थियो ।

शनिबार २५ असार २०७९ ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया