×

नेपाली कांग्रेस सुदूरपश्चिम सरकारमा, तीन जना मन्त्री र दुई जना राज्यमन्त्रीले लिए शपथ

images

धनगढी।  सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दल नेपाली कांग्रेसबाट नयाँ नियुक्त भएका तीन जना मन्त्री र दुई जना राज्यमन्त्रीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश राजधानी धनगढीमा आयोजित एक विशेष समारोहका बीच नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरिएसँगै नयाँ नियुक्त भएका सबै मन्त्रीहरूलाई कार्यभार सम्हाल्ने गरी मन्त्रालयको जिम्मेवारी समेत तोकिसकिएको छ।

नवनियुक्त मन्त्रीहरूमध्ये विक्रमसिंह धामीले प्रदेशको महत्त्वपूर्ण जिम्मेवारी मानिने आर्थिक मामिला मन्त्रालयको कमान्ड सम्हाल्ने भएका छन्। यसैगरी बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ भने मानबहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीका रूपमा कार्यभार प्राप्त गरेका छन्।

मन्त्रीहरूसँगै मन्त्रालयको कामलाई चुस्त बनाउन राज्यमन्त्रीहरू पनि थपिएका छन्, जसअन्तर्गत जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री र मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ।

यो मन्त्रिपरिषद् पुनर्गठन नेपाली कांग्रेसभित्र लामो समयदेखि चुलिएको आन्तरिक विवाद र शक्ति सन्तुलनको समस्यालाई समाधान गर्न शीर्ष नेताहरूबीच भएको आपसी सहमति र प्याकेजअनुसार गरिएको बुझिएको छ।

नयाँ मन्त्री र राज्यमन्त्रीहरूको यस चुनौतीपूर्ण नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसभित्रको असन्तुष्ट पक्षले समेत सम्मानजनक प्रतिनिधित्व पाएको छ। यस राजनीतिक कदमले प्रदेश सरकारको जगलाई थप बलियो बनाउने र आन्तरिक कलह व्यवस्थापन गर्दै सरकारका कामकारबाहीलाई तिव्रता दिन मद्दत पुग्ने अपेक्षा सत्तारुढ दलले लिएको छ।

मङ्गलबार २६ जेठ २०८३ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया