×

गभर्नर नियुक्ति छिट्टै हुन्छ- सभापति देउवा

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए । 

सभापतिले दिएको जवाफ उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ भन्नु भएको छ। मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउने प्रोफेसनल, व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ। एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ।’ बैठकले भारत–पाकिस्तावबीचको तनावका बारेमा समेत छलफल गर्दै आतंकवादको खिलापमा हुने कारबाही जायज भएको निष्कर्ष निकालेको महतले जानकारी दिए

उनले आतंकवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा आफूहरू रहेको जिकिर गरे। महतले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको भन्दै दुई देशबीचको तनाव युद्धको रुपमा परिणत नहोस् र शान्ति बहाल होस भन्ने पक्षमा रहेको बताए। बैठकले संक्रमणकालीन न्यायसंग सम्बन्धी आयोगको संरचनालाई पूर्ण बनाएर यसलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए। संक्रमणकालीन न्यायसंग सम्बन्धी बिषयलाई निष्पक्ष ढंगले निष्कर्षमा पुर्‍याउने गरि आयोग अघि बढ्नुपर्ने निष्कर्ष रहेको उनले बताए।

त्यस्तै संवैधानिक संरचनामा छिटो भन्दा छिटो पदाधिकारी नियुक्त गर्नुपर्नेमा बैठकले जोड दिएको महतले जानकारी दिए। उनले शिक्षा विधेयकलाई सवैको भावना समेटने गरि अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको उल्लेख गरे।

शुक्रबार​ २६ बैशाख २०८२ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया