×

कांग्रेस बारामा कडा प्रतिस्पर्धा, मतदान हुँदै

images

बारा । कांग्रेस बाराको १४औं अधिवेशनबाट नेतृत्व हात पार्न उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । त्रिपक्षीय प्यानल बनाएर उनीहरू लामो समयदेखि भड्किलो र खर्चिलो प्रचारमा जुटेका हुन् । पटकपटक सर्दै आएको र गत शनिबार रद्द भएको मतदान आज (बुधबार) फेरि हुँदैछ ।

यसका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार गत शनिबार सिद्धेश्वर माविमा भएको निर्वाचनमा फर्जी मत खसाउन थालेपछि त्यसलाई रद्द गरिएको थियो । संस्थापन पक्षबाट दुई र इतर पक्षका एक जनाले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय उम्मेदवार छन् । यसैगरी शेखर कोइराला र कृष्ण सिटौलाको समूहबाट रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् । बुढाथोकीको पक्षमा सहमहामन्त्री फरमुलाह मंसुर र यादवको पक्षबाट अर्का सहमहामन्त्री उमाकान्त चौधरी छन् ।

सवारीसाधन, ब्यानर, बाजागाजा, टेन्ट, चोक तथा सार्वजनिक स्थलमा टाँगिएको तुल ब्यानरले कलैया रंगीचङ्गी बनेको छ । निर्वाचन समितिका अनुसार ८० पदका लागि त्रिपक्षीय प्यानलबाट सभापतिसहित पदाधिकारी र सदस्यहरूमा २ सय २७ जनाको उम्मेदवारी परेको र २ हजार ४ सय ८१ कुल मतदाता रहेका छन् ।

सदस्यता नवीकरण र नयाँ सदस्य थप गर्ने विषयमा संस्थापन र इतर पक्षबीच चर्किएको विवादको असर अहिले अधिवेशनमा देखापरेको छ । ध्रुवीकरणले आरोप-प्रत्यारोपदेखि कुटाकुटसम्मको स्थिति पैदा भएको छ । नागरिक अगुवा उमेशलाल दास मतदाता रिझाउन गरिएको खर्चिलो चुनावले राजनीतिमा गरिब र श्रमिकहरूलाई मारमा पारेको बताउँछन् ।

जिल्ला नेतृत्वका लागि पहिलोपटक समावेशी प्रतिस्पर्धा भइरहेको हो । पार्टीमा समावेशी सिद्धान्त लागू भएपछि यो पटक प्रत्येक जातीय, क्षेत्रीय, सामुदायिक क्लस्टरसहित भूगोलको आधारमा प्रतिस्पर्धा भइरहेको हो । पार्टीको दस्तावेज केलाउँदा पहाडी समुदायको नेतृत्वबाट सुरुवात भएको पार्टी संगठनको नेतृत्व अहिलेसम्म मधेसी समुदायको नेतृत्वमा छ ।

विगतमा यस्तो थियो नेतृत्व
मुलुकको मुहार अनुसन्धानात्मक पुस्तकका अनुसार पञ्चायतकालदेखि २०४६ सालमा बहुदल स्थापना हुँदासम्म ऋषिकेश गौतम पहिलो पटक निर्विरोध सभापति बनेका थिए । उनले लामो समयसम्म नेतृत्व गरे । २०४८ मा नेतृत्व फेरिएर फरमुलाह मंसुरको काँधमा आयो । २०४८ देखि २०५७ सम्म उनले नेतृत्व गरे । ‍

त्यसपछि राधेचन्द्र यादव पार्टी सभापति भए । उनकै नेतृत्वमा संगठन रहँदा पार्टी फुट्यो । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक) का सभापति यादव नै रहे । संस्थापन पक्षको नेतृत्वमा नासरुदिन मंसुर सभापति भए । पछि फेरि पार्टी एकीकरण भएपछि यादव नै सभापति भए ।

२०६४ को एकीकरण पश्चात् फेरि सभापतिमा यादव नै चुनिए । २०७२ मा भएको जिल्ला अधिवेशनले जयचन्द्र चौरसियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला कार्यसमिति बन्यो‚ जसमा महिला तीन जना र आदिवासी/जनजाति ६ जना भए पनि दलितको प्रतिनिधित्व भने थिएन । पार्टीको १२ औं महाधिवेशनअघि पार्टी विधानमा समावेशिताको व्यवस्था थिएन ।

 

बुधबार २५ फागुन २०७८ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया