×

सिटौला र लिङ्देनको पुरानै द्वन्द्व, दुवैको भर एमाले

images

झापा। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ। त्यहाँ माओवादीलाई शान्तिप्रक्रियामा ल्याउँदै कांग्रेसलाई गणतन्त्रमा जान भूमिका खेलेका नेता कृष्णप्रसाद सिटौला र अहिले पनि राजतन्त्रको पक्षमा प्रतिबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आमनेसामने छन्। तीन दशकभन्दा पहिलेदेखि नै एकअर्काविरुद्ध खडा झापाका यी दुई नेता एक नदीका दुई किनाराजस्ता छन्।


यसअघि तीनपटक आमनेसामने भइसकेका यी दुई नेता चौथोपटक निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्। २०५६ र २०७० मा दुईपटक सिटौलाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दा लिङ्देनले २०७४ मा वाम गठबन्धनको बलमा एकपटक जित निकालेका छन्। त्यतिबेला लिङ्देनले कांग्रेसका प्रभावशाली नेता सिटौलालाई १३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेको समर्थनमा अघिल्लो निर्वाचनको परिणामलाई निरन्तरता दिने पक्षमा लिङ्देन छन्। तर सिटौला पार्टी संगठनका साथै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित सत्ता गठबन्धनको बलमा परिणाम उल्ट्याउन लागिपरेका छन्।

लिङ्देन पार्टीभित्र बढ्दै गएको प्रभाव र एमालेसँग चुनावी तालमेलका आडमा झापा ३ को परिणामलाई आफ्नो पक्षमा पार्ने दाउमा छन्। राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने मुख्य आँट र भरोसा एमाले बनेको छ। उनका मुख्य प्रतिस्पर्धी सिटौला पनि माओवादीसहितको गठबन्धनका बलमा एमालेभित्रको असन्तुष्ट पक्षको मतकै भरोसामा परिणाम बदल्ने रणनीतिमा छन्।

एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाईंसहित त्यस क्षेत्रमा केही नेता तथा कार्यकर्ता राप्रपासँगको चुनावी तालमेलसँग असन्तुष्ट छन्। पार्टीको निर्णयविरुद्ध यही क्षेत्रमा पर्ने हल्दीबारी गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान उपाध्यक्ष डम्बरबहादुर गिरीले बागी उम्मेदवारी दिएका छन्। लामो समय एमालेमा रहेर राजनीति गरेका गिरी झापा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा थिए। उनलाई एमालेले कारबाही गरेको छ। अघिल्लो निर्वाचनमा लिङ्देनलाई चुनाव जिताएर पठाए पनि पाँच वर्षे कार्यकालमा आफूहरूसँग सहकार्य नगरेको भन्दै एमालेका स्थानीय नेताहरू उनीसँग असन्तुष्ट छन्।

लिङ्देनसँग असन्तुष्ट समूहले विद्रोही उम्मेदवार गिरी वा कांग्रेस नेता सिटौलालाई मतदान गर्ने विश्लेषण गरिएको छ। त्यसले सिटौलालाई केही राहत पुग्ने आकलन छ।

एमालेको मत प्रभावित हुन नदिन लिङ्देनले ओलीलाई झापामा उतारेर संयुक्त भेला आयोजना गरेका छन्। ओलीले लिङ्देनले चुनाव नजिते देशद्रोहीले जित्ने भन्दै पार्टीको इज्जतका लागि पनि उनलाई चुनाव जिताउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

विगतमा सिटौलासँग रहेका भारतेन्द्रकुमार मल्लिक केही समयअघि राप्रपामा प्रवेश गरेका छन्। त्यसले लिङ्देनलाई थप उत्साहित बनाएको छ। तर सिटौला राप्रपासँगको तालमेलप्रति असन्तुष्ट एमाले नेता तथा कार्यकर्ताको सहानुभूति लिने प्रयासमा छन्। पञ्चायतविरुद्ध आन्दोलनका क्रममा २०४६ चैत १२ गते मेची क्याम्पसमा पुतला दहन कार्यक्रमविरुद्ध राजेन्द्र लिङ्देन नेतृत्वको पञ्चायत समर्थित विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलको आक्रमणबाट अखिलका राम थापाको मृत्यु भएको थियो भने मोहन महर्जन गम्भीर घाइते भएका थिए। एमाले नेता तथा कार्यकर्ताले त्यस्ता व्यक्तिलाई कसरी मतदान गर्लान् भन्ने प्रश्न गर्दै आएका छन्। नागरिक दैनिकबाट

 

 

 

 

मङ्गलबार २२ कात्तिक २०७९ ०८:५४ AM मा प्रकाशित

प्रतिक्रिया