×

नदी तटबन्धनको काम नसकिँदा जोखिम बढ्ने

images

कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ । बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन (पानीको बहाव परिवर्तन) का कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ । 
 
वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस वर्ष पनि विपद्को जोखिम बढ्ने देखिएको छ । कैलालीतर्फ तटबन्धन निर्माण भइरहेको ठाउँमा पानीको सतह बढ्दा पुगेको अवरोधले काम पूरा हुन नसकेर सो क्षेत्रमा जोखिम बढ्ने देखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।
 
कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीको बर्दिया राजपुरतर्फको भागमा नदी तटबन्धनसम्बन्धी काम सुस्त गतिमा भइरहेको छ । पानीको बहाव परिवर्तन गरी पालैपालो दुवैतर्फको भागमा नदी तटबन्धनको काम गर्नुपर्ने भए पनि बर्दियातर्फको भागमा काम नसकिँदा कैलालीतर्फको भागमा निर्माणाधीन नदी तटबन्धनको काम प्रभावित भइरहेको जनाइएको छ । 

हरेक वर्षायाममा कर्णाली नदीमा आउने बाढीले दुवै जिल्लाको नदी आसपासको मानवबस्ती बाढी, डुबान र कटानको उच्च जोखिमा रहने गरेको छ । सो क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको कैलालीका प्रजिअ थापाको नेतृत्वको टोलीले आज स्थलगत अध्ययन अवलोकन गरेको छ ।
  
“बर्दियातर्फको भागमा नदी तटबन्धनको काममा ढिलाइ हुँदा कैलालीतर्फको भागमा विपद्को जोखिम बढ्ने देखिन्छ”, प्रजिअ थापाले भन्नुभयो, “निर्माणाधीन तटबन्धनको कामलाई तीव्रता दिनका लागि बर्दियाका प्रमुख जिल्ला अधिकारीलगायतसँग समन्वय गरिएको छ ।” 
  
वर्षायामा कैलालीको टीकापुर नगरपालिका–१, ५ र ८ नं वडाका साथै जानकी गाउँपालिका–९ कर्णाली नदीले निम्त्याउने विपद्को जोखिममा पर्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा रहेको टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्लास्थित कार्यालयका प्रमुख सहभागी हुनुहुन्थ्यो ।
  
निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कर्णाली नदीको कैलालीतर्फको भागमा नदी तटबन्धनको काम भइरहेको छ । आयोजनाको डिभिजनल इञ्जिनीयर विराट ज्ञवालीले कैलालीतर्फको भागको तटबन्धन गर्नुपर्ने ठाउँमा पानीको सतह बढ्दा काम प्रभावित भइरहेको बताउनुभयो । 

ज्ञवालीले भन्नुभयो, “बर्दियाको राजापुरतर्फको भागमा पानी ‘डाइभर्सन’ गरेर तटबन्धनको काम भइरहँदा पानीको सतह कैलालीतर्फको भागमा बढ्दा तटबन्धनको कामलाई तीव्रता दिन अवरोध पुगिरहेको छ ।” 
 
टीकापुर नगरपालिका–२ को भुराखानी, वडा नं ५ को शाहीपुरमा तटबन्धनको काम भइरहेको छ । डुबान कटानको बढी जोखिम रहेको जानकी–९ मा भने बजेट स्रोतको सुनिश्चितता नहुँदा तटबन्धनको काम अगाडि बढाउन सकिएको छैन । स्थानीय पालिकासँग समन्वय गरेर सो क्षेत्रमा विपद् जोखिमको न्यूनीकरणका लागि आपत्कालीन कार्य गर्ने योजना रहेको इञ्जिनीयर ज्ञवालीले बताउनुभयो ।

बुधबार २५ जेठ २०७९ ०९:४९ PM मा प्रकाशित

प्रतिक्रिया