×

पहिचानवादी भन्नेहरू प्रचण्डपथका गुण्डा हुन्, कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्छ - अध्यक्ष केपी ओली

images

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पार्टीका नेता–कार्यकर्तालक्षित आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन भनेका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए। उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए। ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उनले भने। अध्यक्ष ओलीले अब कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने पनि बताए।

‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोमा’ उनले भने, ‘हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ भने। गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले।’ 

ओलीले पहिचानको नाममा जातीय दंगा फैलाउने कार्य प्रचण्डपथको भएको भन्दै प्रचण्डले विषयको आगो फैलाउन नसकेपछि पहिचानवादीका नाममा गुण्डाहरू प्रयोग गरेको आरोप लगाए ।

‘यो विषको आगो फैलाउन खोजेको हो । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन र बिथोल्न खोजेको हो । नाम राखेर, फिर्ता लिनेदेखि पूर्नविचार गर्नुपर्छ भन्नेसम्ममा आइपुग्दा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ’, ओलीले भने, ‘प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता छ । पहिले प्रदेशको नाम राख्ने, अलिपछि गल्ती भयो भन्न र पुनिर्विचार गर्नुपर्छ भन्ने । चाइनिज नाटकका पात्रजस्ता छन् प्रचण्ड । यो प्रचण्डपथ भनेको नेपाललाई विनाश गर्ने बाटो हो । यी पहिचानवादी भन्नेहरू प्रचण्डपथका गुण्डा हुन् । किरात राज्य किन मागेका रहेछन् भन्ने देखियो नि । नाम राखेको भए गैरकिरातलाई खेद्ने लक्ष्य रहेछ भन्ने प्रष्ट भयो नि ।’

उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गरे। उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए। उनले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरेपनि सफल नबनेको बताए। पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे।

उनले प्रचण्डलाई सत्ता लोलुप र लेण्डुप दोर्जेसँग पनि तुलना गरे । ‘देशको माया नभएको कायर सत्ता लोलुपहरुलाई देशको माया र चिन्ता हुँदैन’, ओलीको भनाइ छ ।  ‘गीताको पुस्तक लिएर हलो जोत्न गयो भने गोरुले थाहा पाउँदैन । किताब किन देखाएको भन्ने ज्ञानगुन उसले ग्रहण गर्दैन । लौरो देखायो भने अलिकति छिटो हिँड्छ’, उनले भने,  ‘किनभने उसले लौरो बुझ्छ गीता, वेद, बाइबल र कुरान बुझ्दैन ।’

उनले देशको अवस्था भयावह भए पनि प्रचण्ड जानी बुझी शासन लम्ब्याउनेबाहेक कुनै चिन्ता र चासो नरहेको बताए । ‘जसरी भए पनि सत्ता प्राप्त गर्ने, त्यसका लागि जहाँ जे जसरी । गेरुबस्त्र भिरेर, भैँसी पुजेर, रुद्राक्ष बोकेर, सेतो वस्त्र लाएर बाउको क्रिया बस्दा छोरो पनि मारेकै हो’, ओलीले भने, ‘शासनमा लुब्ध दुर्योधन पनि त्यस्तै थियो तर उ स्वाभिमानी थियो । यो चाहिँ प्रचण्ड पथ हो । प्रचण्ड पथ प्रचण्ड छउन्जेल रहिरहन्छ । यो भनेको गन्तव्य र उद्देश्य नभएको सत्ता स्वार्थ मात्र भएको हो ।’ 

बिहीबार २५ जेठ २०८० ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया