×

उपत्यकाको फोहर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयवासीले ढुङ्गामुढा गरे

images

स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन । गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरे पनि सिसडोलका स्थानीयवासीले पुनः अवरोध गरेपछि आज पनि फोहर व्यवस्थापन हुन नसकेको हो । 

 सहमतिअनुसार उपत्यकाबाट प्रहरीसहित फोहर बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयवासीले ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको बताइएको छ । मुख्यगरी बञ्चरेडाँडाका स्थानीयवासीले प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग गर्दै आएका छन् । त्यसैगरी प्रभावित स्थानीयवासीलाई रोजगारीको व्यवस्था, स्वास्थ्य बीमा, शिक्षाको पहुँच हुनुपर्नेजस्ता माग रहेको ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईंले बताउनुभयो ।   

केन्द्र सरकार र कामपाले आफूहरुमाथि विगत १७ वर्षदेखि झुटको खेती गर्दै आएको आरोप लगाउँदै  जनप्रतिनिधिसँगको सहमतिले मात्र फोहर व्यवस्थापन गर्न नपाइने भन्दै त्यहाँका स्थानीयवासीले सहमतिको व्यवस्था गरी पटकपटक फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् ।  

सत्र वर्षअघि दुई वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको थियो । अहिले सिसडोलमा फोहर राख्न नमिल्ने अवस्था आएपछि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा अन्तिम फोहर व्यवस्थापनस्थल निर्माणको काम भइरहेको छ ।  

उक्त दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पूर्णरूपमा सम्पन्न नभइसकेको भए पनि पहिलो सेलको काम सकिएकाले फोहर व्यवस्थापन गर्न थालिएको हो । विगत ११ दिनदेखि उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको छ भने आवतजावत गर्नसमेत समस्या भइसकेको छ ।  

बुधबार २५ जेठ २०७९ ०९:१८ PM मा प्रकाशित

प्रतिक्रिया