×

भरतपुर विकासको जिम्मा मलाई दिनुहोस् : अध्यक्ष ओली

images

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) चितवनले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताउनुभयो ।
 
प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले भन्नुभयो, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उहाँले विकासमा पहुँच पुग्ने बताउनुभयो ।
 

भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उहाँले यो काम सुवेदीबाट सम्भव भएको बताउनुभयो । गठबन्धन लामो समय नटिक्ने भन्दै उहाँले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” उहाँले थप्नुभयो, “निर्वाचनपछि एमालेको सरकार बन्छ ।


 एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौँ गियरमा कुद्ने भन्दै उहाँले विभिन्न समस्या झेलेर पनि काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले सरकारमा ग¥यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवाहको बाटो खुल्छ, विकासका गति अघि बढ्छन् ।” निर्वाचन देश बनाउने सवाल भएको भन्दै उहाँले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गर्नुभयो ।


 निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिँडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्काे झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेकोछ ।

सभामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले समृद्ध नेपाल र समाजवादको बाटोमा जाने पार्टी एमाले भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा समाजवादको आधार सिर्जना गर्ने हो, पूर्णरुपमा विदेशी हस्तक्षेप रोक्ने काम एमालेले गर्छ ।”
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिँडेका छौँ ।”
 सभामा एमाले नेता, काशिनाथ अधिकारी, नेतृ सीता पौडेल, देवी ज्ञवाली, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा भरतपुरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले आफ्ना भावी योजनाका बारेमा बताउनुभएको थियो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ ।

आइतबार​ २५ बैशाख २०७९ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया