काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदे सहमतिको विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् ।
‘यदी उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु,’ शर्माले भनेका छन् ।
साथै, उनले सात बुँदे समझदारी हुँदैगर्दा संविधान संशोधन अहिलेकै आवश्यकता भएको जिरिक गर्दै सोही जगमा रहेर पुनःमुल्याकंन आवश्यक रहेको जिकिर गरे ।
‘संविधान संशेधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागीता भएन भने दुई तिहाइको गणित पुग्दैन,’ शर्माले भने, ‘हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू ।’
उनले स्थिर सरकारको लागि संविधान संशोधन जरुरी रहेको बताए ।
संविधान संशोधन कुन विषयमा र कहिले गर्ने भन्ने कुरा प्रधानमन्त्री ओलीमा मात्रै निहित नरहेर गठबन्धन दलको नेतृत्वले सल्लाह गरेर गर्ने महामन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री ओलीले हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाको यो कार्यकालमा संविधान संशोधन नहुने बताएका थिए ।
कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएर वर्तमान गठबन्धन सरकार बनेको थियो । उक्त सहमतिमा संविधान संशोधनलाई विशेष प्राथामिकतामा राखिएको थियो ।
प्रतिक्रिया