काठमाडौँ । फेसबुकका मालिक मार्क जुकरबर्गसँग नाम मिलेकै कारणले अर्का मार्क जुकरबर्ग अहिले चर्चामा रहेका छन् । जुकरबर्गसँग नाम मिलेका अर्का वकिल मार्क जुकरबर्गले फेसबुकलाई मुद्धा हालेपछि अहिले उनी चर्चामा आएका हुन् ।
अमेरिकाको इन्डियाना राज्यमा बस्ने एक अमेरिकी वकिल मार्क जुकरबर्गले मेटाविरुद्ध मुद्दा दायर गरेका छन् । वकिलको पूरा नाम मार्क एस जुकरबर्ग हो । वास्तवमा मार्क एस जुकरबर्गले फेसबुकले पछिल्लो आठ वर्षमा आफ्नो खाता पाँच पटक ब्लक गरेको दाबी गर्दै मेटाविरुद्ध मुद्धा दायर गरेका छन् । खाता ब्लक गर्नुको पछाडि फेसबुकले दिएको कारण अरू कसैको नाम प्रयोग गरेको भन्ने थियो । मार्क एस जुकरबर्गले फेसबुकले बारम्बार खाता ब्लक गर्दा उनले आफ्नो पेशामा ठूलो नोक्सान बेहोरे र हजारौं डलर कमाई गुमाएको बताउदै मुद्धा दायर गरेका छन् ।
मार्क एस जुकरबर्गले फेसबुकले उनको खाता एक पटक होइन धेरै पटक निलम्बन गरेको बताएका छन् । यसले उनको व्यावसायिक जीवनमा नराम्रो प्रभाव पारेको र मेटाले उनको ११ हजार डलर मूल्यका विज्ञापनहरू हटाएको बताएका छन् । उनले आफ्नो कानुनी पेशासँग सम्बन्धित विज्ञापनहरू दिएका थिए ।
वकिल जुकरबर्गले उनले आफ्नो वास्तविक पहिचान प्रमाणित गर्न सक्दो प्रयास गरे । उनले आफ्नो फोटो आईडी, क्रेडिट कार्ड र धेरै तस्बिरहरू फेसबुकमा पठाए । उनले आफ्नो नाम फेसबुकका संस्थापक मार्क जुकरबर्ग प्रसिद्ध हुनुभन्दा पहिले पनि उही नै रहेको बताए तर फेसबुकले विश्वास नगरेको उनको आरोप छ ।
मेटाले यस विषयमा आफ्नो गल्ती स्वीकार गरेको छ । कम्पनीले मार्कको खाता गल्तीले ब्लक गरिएको थियो, जसको लागि मेटाले माफी मागेको छ । अब यसलाई पुनर्स्थापित गरिएको छ । मेटाले भन्यो- 'हामी मार्क जुकरबर्गको धैर्यताको कदर गर्छौं र भविष्यमा यस्तो गल्ती हुनबाट रोक्न काम गरिरहेका छौं ।'
यसबाहेक, मार्कले आफ्नो समस्या संसारको अगाडि ल्याउन एउटा वेबसाइट पनि बनाएका छन्, जसमा उनले आफ्नो नामले निम्त्याउने समस्याहरू उल्लेख गरेका छन् । एक पटक वाशिंगटन राज्यले गल्तीले उनीमाथि मुद्दा पनि हालेको थियो ।
प्रतिक्रिया