काठमाडौं, २४ बैशाख। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि साना तथा ठूला जलविद्युत आयोजनाबाट कमिसन मागेको विषय बाहिरिएको भन्दै त्यसबारे तत्काल छानबिन गर्न माग गरेका छन् । सांसद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमार्फत उक्त विषयमा भरपर्दो संयन्त्रबाट छानबिन गराउन माग गरेका हुन् । धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन मागिएको भन्ने समाचारको विषय उठाउँदै छानबिनको माग गरेका हुन् ।
त्यस्तै राप्रपा सांसद रोशन कार्कीले आइपीओको अनुमतिका लागि कमिशन माग्ने बोर्डका प्रमुखलाई कारवाही गर्न माग गरे। बोर्डले राम्रोसंग काम गर्न नसक्दा पुँजीबजारमा हजारौ नागरिकको पैसा फसेको र उनीहरुमाथि अन्याय भएको उनले बताए। उनले प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको सुशासन आयोगले तत्कालै कारवाही अगाडी बढाउन माग गरे । यसअघि जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन स्वीकृतिका लागि बोर्डका अध्यक्षले कमिसन मागेको विषय सार्वजनिक भएको थियो ।
प्रतिक्रिया