काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका छन् ।
निर्वाचनको अन्तिम मत परिणामअनुसार साहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् । यसरी साहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।
ओलीको पक्कड क्षेत्र मानिने यो क्षेत्रमा बालनेको जितलाई देशभरकै रोमाञ्चक जितको रुपमा हेरिएको छ। ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो। योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए।
ओली लामो समयदेखि नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा स्थापित छन्। उनी यसअघि दुई पटक नेपालका प्रधानमन्त्री भइसकेका छन् र एमालेका अध्यक्षका रूपमा राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका छन्। त्यसैले पनि ओलीको राजनीतिक प्रभाव रहेको क्षेत्रमा बालेन शाहको जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यो निर्वाचनमा विजयी भएसँगै शाह पहिलो पटक संसदीय यात्रामा सफल भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्दै उनले संघीय संसदतर्फ आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।
स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेर चर्चा कमाएका शाह अहिले राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल भएका छन्। युवापुस्तामाझ लोकप्रिय छवि बनाएका शाहको जितलाई नयाँ पुस्ताको राजनीतिक सहभागिता र परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।
प्रतिक्रिया