×

महाकाली घटना- सरकारले भारतलाई पठायो कूटनीतिक नोट

images

काठमाडौं ।  सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ । मंगलबार नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आज भारतलाई कूटनीतिक नोट पठाएको हो।  परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि मंगलबार नेपालले भारतलाई कूटनीतिक नोट पठाएको बताए ।

‘दार्चुलामा भइरहेका घटनाका विषयमा गृहमन्त्रालयले तयार पारको प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको छ,’ ती अधिकारीले भने । उनका अनुसार कूटनीतिक नोटमा नेपालले भारतलाई सीमानदी महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न, सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पहिले सल्लाह गरेर सहमति लिन र सीमाक्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना दोहोरिन नदिन सचेत रहनुपर्ने विषय उल्लेख छ । केही दिन यता भारतले दार्चुलास्थित नेपालको सिमानामा रहेको महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतीय भूमिमा एकतर्फी बाँध बनाउँदै आएको छ । सो सम्बन्धमा दुई देशका स्थानीयबासीबीच ढुङ्गा हानाहान समेत भएको थियो । आइतबार भारतीय भूमिबाट हानिएको ढुङ्गाले लागेर एक नेपाली बालक घाइते समेत भएका थिए । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ।

‘हामीले त्यहाँका सरकारी अधिकारी र ठेकेदारलाई विवादित ठाउँमा तटबन्ध नबनाउनुस् भनेका छौं। उनीहरूले त्यसमा सहमति जनाएका छन्,’ उपाध्यायले भने,‘त्यही किसिमको रिपोर्टिङ पनि हामीले केन्द्रमा गरेका छौं।’

भारतीय पक्षले आफ्नोतिर तटबन्ध लगाउँदा बनाएको अस्थायी संरचनाका कारण पछिल्लो विवाद देखिएको उपाध्यायले बताए।

मङ्गलबार २० मंसिर २०७९ ०६:३३ PM मा प्रकाशित

प्रतिक्रिया