×

सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ : सभापति देउवा

images

ओखलढुङ्गा, १९ मङ्सिर  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्ने बताउनुभएको छ । 

ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आज सभापति देउवाले सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताउनुभएको हो । 

मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उहाँले गणतन्त्र र सङ्घीयताको अर्को विकल्प नभएकामा जोड दिनुभयो । “देश सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अहिले नै यसको विकल्प खोज्नु उपयुक्त हुँदैन”, उहाँले भन्नुभयो, “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ । व्यवस्था परिवर्तनको सपना कसैले नदेखे हुन्छ ।” उहाँले आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबैलाई अपनत्व दिलाउँदै सङ्घीयताको संस्थागत विकासमा लाग्न आवश्यक रहेको बताउनुभयो । 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवालाई स्वरोजगार बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नुपर्ने भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास गरेर रोजगारीे सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेता कोइरालाले एनसेलमा भ्रष्टाचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसले सदनमा आवाज उठाउने बताउनुभयो । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दल अहिल्यै आगामी निर्वाचनको तयारीमा लाग्नु गलत भएको बताउनुभयो । सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचार अन्त्यका लागि कांग्रेस लाग्ने बताउनुभयो । छिट्टै सङ्घमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उहाँले उल्लेख गर्नुभयो । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका नागरिकलाई निराश नहुन आग्रह गर्नुभएको छ । अहिले प्रदेशले सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । प्रदेशमा भइरहेको पहिचानको आन्दोलनको कुनै औचित्य नरहेको बताउनुभयो । 

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे, पार्टी प्रवक्ता मीनबहादुर विश्वकर्मा, कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की, पूर्वमुख्यमन्त्री उद्धव थापा, केन्द्रीय सदस्यहरु रामहरि खतिवडा, प्रदीपकुमार सुनुवारलगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

प्रशिक्षणमूलक सम्मेलन बुधबारसम्म सञ्चालन हुने जिल्ला पार्टी सभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो । पार्टीका पूर्वजिल्ला सभापति र पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेलाई सो अवसरमा सम्मान गरिएको थियो । पूर्वजिल्ला सभापतिहरु महेशकुमार कोर्माेचा, प्रदीपकुमार सुनुवार, गोमा केसीका साथै पार्टी नेतहरु चन्द्रकान्त दाहाल, दुर्याेधन गिरीलाई पनि सम्मान गरिएको थियो । स्वर्गीय नेताहरु डिल्लीराम खनाल, मित्रसेन दाहाललाई मरणोपरान्त सम्मान गरिएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।---

बुधबार २० मंसिर २०८० ०८:३२ AM मा प्रकाशित

प्रतिक्रिया