×

प्रचण्ड भेट्न बिहानै खुमलटार पुगे अर्थमन्त्री

images

 काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रचण्डले सोमबारको बैठकमा आलोचना गरेका थिए।

सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेतालाई भेटेका हुन्। उनीहरुबीच सरकारले ल्याउन लागेको बजेट र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ। यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच हार्दिकता देखिएको छ। कतिपयले उनीहरुको हार्दिकतालाई राजनीतिक गतिविधिसँग जोडेरसमेत हेरेका छन्। त्यसको भोलिपल्ट अर्थमन्त्री पौडेलले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउने गृहकार्यमा जुटेको छ । 

मङ्गलबार २३ बैशाख २०८२ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया