×

वाम लोकतान्त्रिक गठबन्धन नै प्राकृतिक छ : अध्यक्ष दाहाल

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गर्दै संविधान, गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउन कायम भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावीसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले गठबन्धनलाई लामो समयसम्म लैजाने, देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

गठबन्धन  देश, जनता र हितमा रहेको उल्लेख गर्दै उहाँले वामशक्ति, प्रजातान्त्रिक शक्ति मिल्दा परिवर्तनका ठूलठूला इतिहास कायम भएको र जनताको अधिकार प्राप्त भएको बताउनुभयो । 

शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पु¥याउन र संविधानलाई थप कार्यान्वयन गर्नका लागि पनि गठबन्धन जरुरी रहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ ।”

उहाँले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले पुरुषले देशमा धेरै राज गरे पनि ठूलो परिवर्तन गर्न नसकेको र उहाँकै भाषामा ‘ठूलो लछारपाटो’ लगाउन नसकेको स्पष्ट पार्नुभयो । 

महिलालाई कार्यकारी भूमिका दिइएको स्थानमा भ्रष्टाचार र अनियमिततासमेत कम भएको उहाँको भनाइ थियो । उहाँले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा प्राकृतिक रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले विगतमा वाम गठबन्धनको अभ्यास भएको भए पनि हालको जस्तै वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त देखिएको स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “वाम–लोकतान्त्रिक गठबन्धन नै ‘नेचुरल’ थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामको सजिलो हो कि भनेर लागियो तर त्यो होइन रहेछ ।”

कांग्रेस र कम्युनिष्टबीच बेमेल हुँदा मुलुकले कुनै उपलब्धी हासिल गर्न नसकेको उहाँको भनाइ थियो । “कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिष्ट मिलेपछि प्रजातन्त्र पुनःस्थापना पनि भयो, शान्तिप्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो । यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो । अहिलेको गठबन्धन पनि यही आधारमा बनेको हो”, उहाँले भन्नुभयो । कांग्रेस कार्यकर्ताले रुखबाहेक हँसिया हथौडामा र माओवादी कार्यकर्ताले हँसिया हथौडाबाहेक रुखमा भोट हाल्दिन भन्न नहुने उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, “वाम गठबन्धन र पार्टी एकता गरेर जुन स्थायित्व र विकासको सपना देखेका थियौँ त्यो सपना तीन वर्ष पुग्दा नपुग्दै चकनाचुर भयो । केपी ओलीलाई हामीले ठूलो समर्थन गरेर नायकको भूमिकामा लगेका थियौँ तर, एकताको दुई हप्तादेखि नै ओलीबाट धोका पायौँ”, उहाँले भन्नुभयो । 

गठबन्धनलाई नयाँ उचाइमा पु¥याउन आफ्नो ठूलो मेहनत परेको उल्लेख गर्दै उहाँले यसको मूल्य र मान्यताभन्दा बाहिर जाने छुट कोही कसैलाई नभएको बताउनुभयो । काठमाडौँ महानगरलाई रूपान्तरण गर्न सकिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्दै उहाँले ऐतिहासिक परिवारसँग जोडिएको व्यक्तित्वलाई साझा उम्मेदवारको रूपमा अगाडि सारिएको अध्यक्ष दाहालको भनाइ थियो । 

शुक्रबार​ २३ बैशाख २०७९ ०८:३३ PM मा प्रकाशित

प्रतिक्रिया