×

आमाको पुण्यतिथि : विद्यार्थीलाई शैक्षिक सामग्री, शिक्षकलाई सम्मान

images


तम्घास (गुल्मी), २३ माघ : गुल्मीको एक परिवारले आमाको पुण्यतिथिमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नका साथै शिक्षकलाई सम्मान गरेको छ । जिल्लाको इस्मा गाउँपालिका –६ अमरपुर निवासी गोविन्द गौतम परिवारले आमा जानकी गौतमको २४ औँ पुण्यतिथिमा सोमबार अमरपुरकै एक सय ४८ विद्यार्थीलाई शैक्षिक सामग्री र आठ विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको हो । 

गौतम परिवारले अमरपुरको आप्लाएस्थित देवीस्थान आधारभूत विद्यालयका २२ विद्यार्थीलाई स्वेटर र ५२ विद्यार्थीलाई कापी एवं सिम्पानीस्थित गोविन्दरत्न आधारभूत विद्यालयका १८ विद्यार्थीलाई स्विटर र ५६ विद्यार्थीलाई कापी प्रदान गरेको छ । 

गोविन्दरत्न आधारभूत विद्यालयमा एक कार्यक्रम गरी अमरपुरका आठवटै विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । अमरपुर ओमप्रसाद गौतम माविका तिल बहादुर पराजुली, गोविन्द रत्न लोकतान्त्रीक आधारभूत विद्यालयका टेकहरी पराजुली, देवीस्थान आधारभूत विद्यालयका लोकनाथ पाण्डे सम्मानित हुनुभएको छ । 

त्यसैगरी सरस्वती आधारभूत विद्यालयका गोपाल अर्याल, शहीद शमशेरबहादुर आधारभूत विद्यालयका धनिश्वर घिमिरे, बुल्म प्राथमिक विद्यालयका माया कुँवर, गहतेरा आधारभूत विद्यालयका मातृका पाण्डे र सरस्वती आधारभूत विद्यालयका धर्म पराजुलीलाई सम्मान गरिएको हो । प्रधानाध्यापकहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । 

कोष स्थापना

गोविन्दकी आमा जानकीको २०५६ माघ १६ र बुवा रामबहादुरको ०७४ असोज ६ मा मृत्यु भयो । बुवा–आमाको निधनपछि छोरी पूर्णकला, छोराहरु गोविन्द, धनिश्वर र मोती एवं बुहारीहरु ललिता, सङ्गिता र मीराले संयुक्त रूपमा बुवा–आमाको नामबाट ०७५ सालमा ‘राम–जानकी गौतम स्मृती कोष’को स्थापना गर्नुभयो । उक्त कोषमा अहिले वार्षिक रु ५० हजार ब्याज आउने गरी रकम जम्मा गरिएको छ । उक्त रकमबाट गौतम परिवारले प्रत्येक वर्ष शैक्षिक कार्यक्रम गर्दै आएको छ । परिवारले बुवाको पुण्यतिथिको अवसरमा अमरपुर ओमप्रसाद गौतम माविमा बालकक्षादेखि कक्षा १२ सम्मका कक्षा प्रथम हुने विद्यार्थीहरुलाई प्रोत्साहन रकम प्रदान गर्ने गरेको छ । 

मङ्गलबार २३ माघ २०८० ०७:१७ PM मा प्रकाशित

प्रतिक्रिया