×

टर्कीमा शक्तिशाली भूकम्प, संकटकाल घोषणा

images

काठमाडौं । टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७.८ मापन गरिएको छ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो। यो क्षेत्र गाजियान्तेप नजिकै छ। गाजियान्तेपको लगभग २० लाख जनसंख्या छ, जसमध्ये आधा मिलियन सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ ।

टर्कीको अखबार हुर्रियतले ५० भन्दा बढि मानिसहरू मारिएको पुष्टी गरेको छ । अखबारले लेखेअनुसार ओस्मान्येका गभर्नरले ५ जनाको मृत्यु भएको बताएका छन् । सान्लुर्फाका गभर्नरले १७ जनाको ज्यान गएको बताएका छन् ।

मालत्याका गभर्नरले भग्नावशेषबाट २३ जनाको शव निकालेको बताएका छन् । दियारबाकिरका गभर्नरले ६ जनाको मृत्यु पुष्टी गरेका छन् । टर्कीकै अर्को अखबार डेली सबाहले ५३ जनाको मृत्यु भएको लेखेको छ ।

जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेस (जीएफजेड) लाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यसलाई ७.७ म्याग्निच्युडको भूकम्पको रूपमा वर्णन गरेको छ। जीएफजी का अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर तल थियो ।

समाचार एजेन्सी एएफपीले यसलाई ७.९ म्याग्निच्युडको भूकम्पको रूपमा वर्णन गरेको छ। गाजियन्तेप नजिकै गएको भूकम्पको धक्का सम्पूर्ण क्षेत्रमा महसुस गरिएको थियो । टर्कीको राज्य प्रसारक टीआरटीका अनुसार भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका थिए । एकजना प्रत्यक्षदर्शीले रोयटर्सलाई भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको बताए ।

सोमबार २३ माघ २०७९ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया