×

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, शनिबार शीर्ष नेतालाई बुझाउने तयारी

images

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।

कार्यदलले राप्रपाले मुख्य रुपमा उठाउँदै आएको पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनु पर्ने मागलाई समेटेको छ। कार्यदल सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको र सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने बताए।

उनले सम्भवत शनिबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने जानकारी दिए। ‘शीर्ष नेताहरूले अध्ययन गरेर आवश्यक थपघट गरेर पारित गरेपछि सार्वजनिक गरिन्छ,’ बैठकपछि उनले पत्रकारहरूसँग भने, ‘सुशासन, सेवा प्रवाहलगायत विषयमा केन्द्रित रहेर न्यूनतम साझा कार्यक्रम आउँछ। सबै दलले उठान गरेका विषयबस्तु समेट्ने कोसिस भएको छ।’

यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने जनाइएको छ । एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहेका छन् ।

शुक्रबार​ २२ पुस २०७९ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया