×

मधेश प्रदेश- राजनीतिक दलहरुले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दै

images

 काठमाडौं । मधेश प्रदेशमा राजनीतिक दलहरुले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख सुरेन्द्र लाभले आज साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएपछि दलहरुले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।

नयाँ मुख्यमन्त्रीको लागि ७ दलले दाबी पेश गर्ने तयारी गरेका छन् । हिजो एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।

गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । आज मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गरिने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले जानकारी दिए ।

एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । जसपा सभामुख लिने दाउमा छ । १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।

शुक्रबार​ २० मंसिर २०८२ १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया