काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को छनोटमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानसँग खेल्दैछ ।
खेल उज्वेकिस्तानको मिलि स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ । यो खेल जिते नेपाल अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले पराजित गरेको थियो । नेपाल र उज्वेकिस्तानबिच अंक र गोल पनि बराबरी भएकाले निर्धारित समयमा बराबरी भएको खण्डमा खेल टाइब्रेकरमा जानेछ ।
उज्वेकिस्तान तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । फिफा वरियतामा पनि उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ ।
हेड टू हेड
हेड टू हेडमा उज्वेकिस्तान बलियो अवस्थामा छ । नेपालसँग खेलेका तीनै खेलमा उज्वेकिस्तानले जित निकालेको छ ।
सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल र उज्वेकिस्तानबीच पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो । त्यसबेला दुई देश दुई पटक भिडेका थिए । समूह चरण नेपालले २-० को हार व्यहोर्दा फाइनलमा पनि ३-२ गोलले पराजित भएको थियो ।
प्रतिक्रिया