×

काठमाण्डाै उपत्यकाकाे सुरक्षा जिम्मा ‘सङ्घीय प्रहरी’ लाई दिने तयारी

images

 गृह मन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डाै उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।

आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो भनाइ राख्नुभएकाे हो । उहाँले यस विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर सङ्घीय प्रहरीलाई दिने कुनै मनसाय नराखेकाे पनि पटक–पटक दोहोर्‍याउनुभयाे । 

राजधानी काठमाण्डाैमा दैनिकजस्तो सुरक्षा संवेदनशीलताका घटना बढ्दै गइरहेको उल्लेख गर्दै गृहमन्त्री खाणले यस्ता घटनामा नागरिकको सुरक्षाका लागि पनि प्रहरी परिचालन बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले विधेयक ल्याएको हो । यसमा प्रदेश प्रहरीको अधिकार कटौती गर्ने कुनै मनसुवा नै होइन । काठमाण्डाै, ललितपुर र भक्तपुर (काठमाण्डाै उपत्यका) काे सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको हो । जस्तो: पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभाेक्ताले स्वाभाविक रूपमा आन्दोलन गर्ने भए । त्यसका लागि सुरक्षा दिनुपर्‍याे यो पनि गम्भीर सुरक्षा चुनौती हो ।’

बैठकमा बोल्दै सत्ता साझेदार माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले भने सरकारले सङ्घीयताको मर्म विपरीत प्रदेश प्रहरीको अधिकार कटौती हुने गरी याे विधेयक ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले राजधानी काठमाण्डाैकाे सुरक्षा व्यवस्थाका लागि विद्यमान कानुनी व्यवस्था नै पर्याप्त रहेको जिकिरसमेत गर्नुभयो । सांसद सुवेदीले सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नमिल्ने व्यवस्था संविधानमै उल्लेख गरिएको पनि बताउनुभयो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले अध्यागमन विभागको सुरक्षामा लापर्बाही नगर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले सङ्घ, प्रदेश र पालिकाकाे सहकार्यमै सबै काम गर्नुपर्ने भएकाले काठमाण्डाै उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने कानुनी प्रबन्ध गर्दा गलत नहुने धारणा राख्नुभयो । सांसद अधिकारीले बदलिँदो अन्तर्राष्ट्रिय परिवेशसँगै राजधानी काठमाण्डाैकाे सुरक्षा संवेदनशीलता बढ्दै गएको पनि उल्लेख गर्नुभयो ।

मङ्गलबार २१ असार २०७९ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया