×

रुपन्देही बस दुर्घटनाका घाइतेहरुकाे उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

images

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा भएकाे बस दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो। 

गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिन्टेन्डेण्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान रोहिणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडक खण्ड अन्तर्गत रोहिणी पुलमा जनकपुरबाट भैरहवाका लागि छुटेकाे लु २ ख ३८४१ नम्बरकाे बस दुर्घटना भएको थियो । दुर्घटनामा नौ जनाको ज्यान गएकाे थियाे । ज्यान गुमाउनेमा एक महिला र आठ पुरुष रहेका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो। 

उहाँका अनुसार ज्यान गुमाएकामध्ये पाँच जनाको परिचय खुलेकाे छ । परिचय खुलेका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालीकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्मा रहेका छन् । प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ। 

आइतबार​ २२ जेठ २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया