×

वतावरण संरक्षण अहिलेको मुख्य चुनौती हो : मुख्यमन्त्री शाही

images

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ । ‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ आज मनाइएको विश्व वातावरण दिवस, २०७९ को अवसरमा वृक्षारोपण गर्नुहुँदै मुख्यमन्त्री शाहीले रूखले मात्रै प्रकृतिले जोगाउने दाबी गर्नुभयो । “दिगो प्रकृतिमैत्री जीवनयापनका लागि वृक्षारोपण र वन संरक्षण आवश्यक छ,” उहाँले भन्नुभयो, “तसर्थ हरेकले रूख रोपौँ, वन जोगाऊँ, प्रकृति अनुकूल मानवीय कर्म गरौँ ।”

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउन वातावरण संरक्षण अपरिहार्य भएको बताउनुभयो । “मानव गतिविधिका कारण प्रकृतिमाथि अतिक्रमण भइरहेको छ,” मन्त्री लामाले भन्नुभयो, “यसले आजको मानवजगत् घातक सिद्ध रोगले ग्रसित हुनाका साथै मानवीय जीवनशैलीमा नकारात्मक प्रभाव बढ्न थालेको छ ।”

दिवसका अवसरमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको वातावरण संरक्षण र हरित सहर निर्माणका लागि एक घर दुई बिरुवा रोप्न नगरवासीलाई आग्रह गर्नुभयो । राजधानी सहर वीरेन्द्रनगरमा फडहर, आँप, अम्बा, एभोकाडो, तेजपत्ता, कटहरलगायत बिरुवा रोपिएको छ । 

वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, प्रमुख सचिव राजकुमार श्रेष्ठलगायत सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 

आइतबार​ २२ जेठ २०७९ ११:४७ PM मा प्रकाशित

प्रतिक्रिया