काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । नेपालका भेट्रान डिफेन्डर अनन्त तामाङले एन्फाको निर्णयप्रति असन्तुष्टि जनाउदै खेलाडीलाई जिउदै नमार्न आग्रह गरेका छन् ।
अनन्तले खेलाडीको अभिभावक संस्था एन्फाले क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गरेको उल्लेख गर्दै आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि भएको र आज साविक विजेता त्याग भारी भएको बताएका छन् ।
अनन्तले भनेका छन्:
हामी खेलाडीको अभिभावक संस्था एन्फाले आज क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो । म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ । सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थें, तर त्यो सौभाग्य मैले पाउन सकिन । हाल बंगलादेशको क्लबसँग आवद्द रहेपनि हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ । आज मलाई साविक विजेताको ट्याग भारी भएको छ । म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैंभर होइन । लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौ खेलाडीको लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औंला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् ।
सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरेपछि यसको आलोचना भइरहेको छ ।
प्रतिक्रिया