×

गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनु पर्दछ– उपसभामुख शर्मा

images

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित गर्न नहुने बताउनुभयो । 

निर्वाचनमा गठबन्धन गर्ने पार्टीबीच प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदमा एकजना महिला हुनुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले भन्नुभयो, “संवैधानिक हक अधिकारका लागि महिलाले सङ्गठित पार्टीमा सशक्तरूपमा भूमिका खेल्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो । 

संवैधानिक अधिकारअनुसार मुलुकका सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउन राजनीतिक पार्टी एवं निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि महिला नेतृत्व विकास र उद्यमशील हुँदै आर्थिकरूपमा सशक्त भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।  

संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य विकास लम्सालले समतामूलक समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिँदै प्राप्त अधिकारलाई आधार बनाएर थप अधिकारका लागि महिला सङ्गठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

जिल्ला समन्वय समितिका कास्कीका उपप्रमुख सावित्री भण्डारीले कर्तव्य पूरा गरेर अधिकार खोज्नुपर्ने बताउँदै स्थानीय निर्वाचनमा महिलालाई अगाडि बढाउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।  राष्ट्रिय महिला आयोगका सदस्य सावित्रीकुमारी शर्माले आयोगले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विभेदको अन्त्य गर्दै महिला सशक्तीकरणमा जोड दिँदै आएको जानकारी दिनुभयो । आयोगले सातवटै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै उहाँले नीतिगत तहमा महिलाको पहुँच बढाउने उद्देश्य कार्यक्रमको रहेको बताउनुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले लैङ्गिकसम्बन्धी सवाल र निर्वाचन आयोग पोखराका होमनाथ पराजुलीले निर्वाचन र महिला सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थामा आबद्ध अधिकारकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको आयोगका शाखा अधिकृत वर्षा ढकालले जानकारी दिनुभयो । 

सोमबार २१ चैत २०७८ १०:३४ PM मा प्रकाशित

प्रतिक्रिया